काठमाडौं, १३ पुस । नेकपा एमालेले आफ्नो नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो ।

PRACHANDA-KP

एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने भएकाले सहकार्यमा आउन चाहेको अवस्थामा वाम गठबन्धनका प्रमुख नेताहरुको सल्लाहमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पस्ट गरे ।

प्रदेश नम्बर–२ मा मधेसकेन्द्रित दलले जितेको अवस्थामा उनीहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको उनले बताए । उनले पार्टी एकता र सरकार निर्माणबारे कुनै गम्भीर समस्या नरहेको दाबी गर्दै निर्वाचनको तालमेलदेखि नै एमाले र माओवादी केन्द्रको एकताको प्रक्रिया सुरु भएको र निर्वाचनका समयमा कार्यकर्ताबीच थप उत्साह देखिएको बताए । वाम गठबन्धनमा कुनै असहजता उत्पन्न नभएको र उत्पन्न भएमा पनि दुई अध्यक्ष आपसमा बसेर सजिलै हल गर्नसक्ने स्थितिमा आफूहरु रहेको दाबी गरे । एभरेष्ट दैनिकबाट