पार्टी एकता र कार्यकारी भूमिकाबारे चलेका हल्ला र यथार्थ

गोकर्ण भट्ट
काठमाडौं । यतिखेर चर्चाको बजारमा प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा चुलिएको छ । सञ्चारकर्मीदेखि राजनीतिमा चासो राख्ने सबैको एउटै जिज्ञासा छ– प्रचण्ड प्रधानमन्त्री बन्ने हल्ला छ नि, के हो कुरा ? हरेक कार्यक्रममा सञ्चारकर्मीले सोध्ने प्रश्न समेत यही नै छ । अब कसको भूमिका के रहने ? भनेर जतासुकै जिज्ञासा छ र यो सँगै कतिपय आँकलन, आशंका र भ्रम पनि देखिन्छन् ।

prachanda

के हो त यो हल्ला ?

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया हुने कुरामा आशंका र हुने हो भने त्यसको स्पष्ट प्रक्रिया र मोडालिटीका बारेमा देखिएको अन्यौलताले अहिलेको यो हल्लालाई प्रश्रय दिएको छ । निर्वाचनअघि संयुक्त घोषणापत्र र वाम गठबन्धनमार्फत चुनावमा होमिएका दुबै दलबीच निर्वाचनको परिणाम आइसकेपछि त्यही स्पिरिट अनुसारको एकताको कुराकानीले गति नलिएपछि प्रचण्ड र ओलीबीचको दूरी बढाउने नियतले यो हल्ला फैलिएको देखिन्छ । अझ नेपाली कांग्रेसले ५ वर्षका लागि प्रचण्डलाई प्रधानमन्त्रीको लिखित प्रस्ताव राख्ने कुरा र उपेन्द्र यादवलगायतसँग मिलेर नेकपा एमालेले माओवादीबिनाको सरकार गठन गर्ने चर्चाले समेत यसमा थप बल दिएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकता र निर्वाचनको सन्दर्भममा असोजमा तीनवटा मुख्य सहमति भएका थिए । त्यतिखेरको सझदारी अनुसार, दुबै दलले साझा घोषणापत्र र गठबन्धनमार्फत निर्वाचन लड्ने, पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने र प्रचण्ड एवं ओली दुबै कार्यकारी भूमिका रहने गरी मुख्य नेता हुने, यसका लागि शुरुमा ओली प्रधानमन्त्री हुने र अढाई वर्षपछि प्रचण्ड प्रधानमन्त्री हुने कुरामा सहमति भएको थियो । यसबाहेक, दुई तिहाई बहुमत पुग्ने कोशिस सम्भव भएपछि कार्यकारी राष्ट्रपतिको व्यवस्थासहित संविधान संशोधन गर्ने समेत समझदारी भएको थियो । एभरेष्ट दैनिकबाट