प्युठान, ७ पुस । ऐरावती गाउँपालिका-३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्याएकी थिइन् । ७३ वर्षीय विकको उपचारका क्रममा बिहान ८ बजे अस्पतालमै मृत्यु भयो ।
विक परिवारको घर जिल्ला अस्पताल बिजुवारदेखि करिब चार घण्टाको दूरीमा पर्छ । आमाको मृत्युपछि छोरी पीडामा छटपटिइन् । छोरीले जसोतसो उपचार गर्न अस्पतालसम्म पुर्याए पनि आमालाई बचाउन सकिनन् । उपचार गर्दागर्दै साथमा भएको थोरैधेरै पैसा पनि सकियो । मृत्युपछि आमाको शव घरसम्म पुर्याउन उनीसँग पैसा भएन । उनले प्युठान नगरपालिका बिजुवारस्थित झिमरुक नदी किनारमा आमाको शव गाड्ने सोचमा पुगिन् । मृत्युको खबर पाएपछि गाउँबाट छिमेकी दिदीबहिनी पनि आए ।
‘बुबा १५ वर्षअघि नै बित्नुभयो’, राधाले रुँदै भनिन्, ‘घरमा आमा एक्लै बस्नुहुन्थ्यो । हेरचाह गर्ने कोही थिएनन् ।’ महिनौं दिनसम्म आमा ओछ्यानमै थला परेपछि रोजगारीका लागि भारत पुगेकी उनी माइतीघर आएर आमाको उपचारमा लागेकी थिइन् । ‘अलिकति खोजेर ल्याएको पैसा आउँदाजाँदा सकियो’, उनले भनिन्, ‘गाउँका दिदीहरूलाई बोलाएर बिजुवारमा गाड्न खोज्याँै ।’ जिल्ला अस्पतालदेखि करिब आधा घन्टा दूरीसम्म उनीहरूले ‘स्टेचर’मा शव बोकेर झिमरुक नदीकिनार नजिक पुर्याएका थिए ।
शव गाड्न राधासँगै आएकी छिमेकी मंगला विकले मद्दत गर्दै थिइन् । इलाका प्रहरी कार्यालय बिजुवारमा पुगेर मंगलाले गैटी, फोरुवासमेत ल्याइन् । प्युठान नगरपालिका (४ स्थित वडा कार्यालयनजिकै विकका आफन्तले शव गाड्न तयारी गरिरहेका थिए । पहिले त्यस क्षेत्रमा शव गाड्ने गरिए पनि अहिले रोक लगाइएको थियो । राधालाई पनि शव घर लैजान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो । ‘अरूको ठाउँमा कसरी गाड्ने होला ?’, विकले भनिन्, ‘घरमा लैजान नसक्ने भएपछि यहाँ आएका हौँ ।’ अन्नपूर्ण पोष्टबाट