काठमाडौं, ७ पुस । एमाले नेता एवं सांसद पार्वत गुरुङले एमाले र माओवादी केन्द्रबीच छिट्टै पार्टी एकता हुने बताएका छन् । उनले एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड हुने सहमति भइसकेको खुलासा गरे । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्ने पक्का भइसकेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीको बन्छ भन्नेबारे अब कुनै अलमल छैन । केपी ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमलदाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ ।’ उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति हुन नहुने बताए ।

uml

उनले दुई पार्टीबीच एकता हुँदैन कि भनेर प्रचार गर्नु गलत भएको उल्लेख गरे । शुक्रबारबाट पार्टी एकताका लागि छलफल सुरु हुने भन्दै गुरुङले एकता नगर्ने पक्षको राजनीति समाप्त हुने टिप्पणी गरे । गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले भने, ‘अहिलेको जनमतलाई सम्मान गर्दै उहाँले राजीनामा दिनुपर्छ । तर अहिलेको सरकार सत्ता लम्ब्याएर अस्थिरतातर्फ जान खोजेको हो कि भन्ने आभास हुन थालेको छ ।’

नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासका लागि मत दिएको भन्दै सोहीअनुसार अब बन्ने सरकारले काम गर्ने समेत विश्वास दिलाए । उनले भने,‘सबैलाई सहमतिमा लिएर सरकार अघि बढ्छ, कांग्रेसले अब पाँचवर्ष कम्युनिष्टको सरकार हेरेर बस्छ ।’