काठमाडौं, ६ पुस । राष्ट्रियसभाको चुनाव प्रणालीलाई लिएर ठूला दलबीच दूरी बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको अग्रसरता लिएकी छन्।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार बिहान शीतल निवासमा भेट्दै भण्डारीले चुनाव प्रणालीसँग सम्बन्धित अध्यादेशका कारण राष्ट्रपति कार्यालयलाई विवादमा नतान्न, आपसी सहमति खोज्न आग्रह गरेकी छन्। भण्डारीले यसअघि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई यसैगरी भेटेर गतिरोध अन्त्यको अग्रसरता लिन आग्रह गरेकी थिइन्।
राष्ट्रिय सभाको चुनाव बहुमतीय कि एकल संक्रमणीय प्रणालीबाट गराउने भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद चुलिँदै गएपछि भण्डारीको अग्रसरता बढेको हो।
अन्नपूर्ण पोष्टमा खबर छ ओली, दाहालसहित नेताहरू सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठसँग भण्डारीले भनिन्, ‘राष्ट्रियसभाको निर्वाचन बहुमतीय वा एकल संक्रमणीय प्रणालीबाट भन्ने विषय तपाईंहरूबाटै टुंगोमा पुग्नुपर्छ। कांग्रेस, एमाले र माओवादीबीचको सहमतिबाट यो मुलुकका अपरिकल्पनीय विवाद र मुद्दाहरूको सम्बोधन भइसकेको अवस्थामा राष्ट्रियसभाको विषयमा विवाद उत्पन्न गर्नुको कुनै अर्थ रहँदैन, नगर्न म आग्रह गर्दछु।ु










