काठमाडौँ, ६ पुस । नकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाउँदै जाने र माओवादी केन्द्रसँग पार्टी एकता पनि गर्दै जाने बताएका छन् ।
वाम गठबन्धनको तर्फबाट काठमाडौंबाट विजयी उम्मेदवारलाई बधाई दिन बुधबार आयोजित कार्यक्रममा ओलीले पार्टी एकतापछि एमाले र माओवादी दुवै नरहने बताए । माओवादीले सोमबार सरकार र पार्टी एकता प्रक्रिया एकैसाथ अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेको थियो ।
ओलीले वामपन्थी आन्दोलन एक भएर जान थालेकाले अब कसैले रोकेर पनि रोक्न नसक्ने दाबी गरे । ‘केहीले कम्युनिस्टहरू एक हुन्नन् भन्न पनि सक्छन् ।
कोही ज्यान गए पनि दुई पार्टीबीचको एकतामा जान्न भन्ने पनि होलान्, त्यसले एकता रोकिँदैन,’ ओलीले भने, ‘एमाले र माओवादी केन्द्र एकजुट भएपछि मूलतः नेपालमा अब कम्युनिस्ट आन्दोलन एक हुन्छ । यो एकतालाई कसैले चाहेर पनि रोक्न सक्दैन ।’ उनले पार्टी एकताका लागि स–साना कुरामा नअल्झिने पनि स्पष्ट पारे ।
एमाले अध्यक्ष ओलीले एमालेले माओवादीलाई र माओवादीले एमालेलाई निलेपछि मात्र पार्टी एकता हुने बताए । ‘कतिपय अहिले पार्टी एकताको विरोध गर्दै एकले अर्को पार्टीलाई निल्ने कुरा गरिरहेका छन्,’ ओलीले भने, ‘पार्टी एकता भएपछि फेरि छुट्टै एमाले र छुट्टै माओवादी खोज्न मिल्छ रु दुई पार्टी मिल्दा पहिलाको पार्टी खोज्दा कहाँ पाइन्छ ?’ नयाँ पत्रकाबाट