अमेरिकाको सर्वोच्च अदालतले ६ वटा मुसलमान बहुल देशमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय पूर्ण रुपमा कार्यन्वयन गर्न मिल्ने आदेश दिएको छ ।
सर्वोच्च अदालतको यो आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता घोषणा गरेको तेस्रो यात्रा प्रतिबन्धलाई समेट्छ । सोमबार सर्वोच्च अदालतका ९ मध्ये ७ न्यायाधीशहरुले ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धमाथि रोक लगाउने तल्लो अदालतका निर्णयहरु हटाएका हुन् । तर
चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकविरुद्धको यात्रा प्रतिबन्धले अझै कानुनी चुनौतीहरुको सामना गरिरहेका छन् ।
दुई न्यायाधीशहरुले मात्रै राष्ट्रपतिको आदेशलाई रोकिरहन अनुमति दिए ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को र भर्जिनियाको रिचमण्ड संघीय पुनरावेदन अदालतहरुले यो साता यात्रा प्रतिबन्धसम्बन्धी नीति ठिक भएको भन्ने आदेश कानुनसम्मत भए नभएको दाबीमाथि सुनुवाइ गर्नेछन् ।
अध्यागमनसम्बन्धी राष्ट्रिय कानुन केन्द्रकी कानुनी निर्देशक क्यारेन टम्लिनले सोमवारको आदेशलाई विध्वंसकारी समाचार भएको भन्दै ट्वीट गरेकी छन् ।
उनले सर्वोच्च अदालतले मुसलमान देशहरुमाथि लगाउने पछिल्लो यात्रा प्रतिबन्धको पुर्याउने कानुनी लाभ र त्यसले पार्ने मानवीय असरलाई सम्बोधन नगरेको बताएकी छन् । उनले लडाइँ जारी रहने पनि बताइन् ।
ट्रम्पले शासन सम्हालेयता विभिन्न समयमा लगाएका तीनवटै यात्रा प्रतिबन्धहरुलाई अदालतमा चुनौती दिइएको थियो । ज्यानुअरी, मार्च र सेप्टेम्बरको अन्त्यमा गरी उनले तीन फरक फरक समयमा विभिन्न देशमाथि यात्रा प्रतिबन्धको आदेश जारी गरेका थिए ।
तर तल्लो तहका अदालतहरुले उनको यात्रा प्रतिबन्ध खासगरी मुसलमानहरुमाथि लक्षित भएको भन्दै त्यसले अमेरिकी संविधानको पहिलो संशोधनले समेटेको धर्मसम्बन्धी स्वतन्त्रताको उल्लंघन गरेको जनाएका थिए । बीबीसी
