दाङ, १८ मंसिर । विगत एकदशक अघिदेखि चलचित्र, डकुमेन्ट्री, एल्बम तथा विविध सांगीतिक अभियान र कार्यशाला संचालन गर्दै आएको उत्सर्ग फिल्मस् नेपालले दाङको घोराहीमा म्यूजिक एकेडमीको रुपमा उत्सर्ग कला केन्द्रको स्थापना गरेको छ । कलाकेन्द्रमा नृत्य, गायन, वाद्यवादन सम्बन्धि प्रशिक्षण कक्षाहरु संचालन गरिने प्रबन्ध निर्देशक केएल पीडितले बताउनु भयो ।
आगामी पौष १ देखि संचालन हुने कलाकेन्द्रमा लोक, हि-पप, कत्थक, आधुनिक, बि- बोइङ शैलीका नृत्यबारे प्रशिक्षण दिनेछ । वाद्यवादनतर्फ हार्मोनियम, गिटार, मादल र बाँसुरीबारे प्रशिक्षण दिइनेछ । त्यसैगरी गायनतर्फ लोक, आधुनिक तथा पप शैलीबारे प्रशिक्षण कक्षा संचालन गरिनेछ ।
यसका साथै समय समयमा अभिनय, मोडलिङ, फिल्म तथा डकुमेन्ट्री निर्माण, भिडियो सम्पादन र सिनेमाटोग्राफी सम्बन्धी विशेष कार्यशाला संचालन गरिने प्रबन्ध निर्देशक पीडितले बताउनु भयो ।