इन्द्रेणी संवाददाता
प्युठान, ३ असार
प्युठानका आठ गाविसका सर्वसाधारण अझै अध्यारोमा दैनिकी गुजार्न बाध्य भएका छन् ।१२ मेगावाट क्षमताको झिमरुक जलविद्युत्त आयोजना जिल्लामै संचालन भएपनि दुर्गममा पर्ने अर्खा, डामृ, खवाङ, खुङ, लिघा, पुँजा, रजवारा र स्याउलीवाङ गाविसमा अझैसम्म विद्युत्त विस्तार हुन सकेको छैन् ।
ति गाविसका स्थानीय टुकीकै उज्यालोमा रात बिताउन बाध्य रहेको डामृका डिल बहादुर थापाले वताउनुभयो ।
महंगोमा लघु जलविद्युत्त संचालन गरेपनि धेरै वर्ष टिक्न नसकेपछि टुकीको उज्यालोमा वाँचेको उहाँको भनाइ छ । गाउँमा केहीले सोलार जडान गरेपनि अधिकांशको घरमा टुकीको प्रयोग हुँदै आएको छ ।
गाउँमा विद्युत्त विस्तार गर्न माग गरेपनि सरोकार राख्ने निकायको ध्यान नगएको स्थानीयको भनाइ छ । रजवारा, अर्खा र खुङमा महंगोमा लघु जलविद्युत्त आयोजना संचालन गरेपनि भरपर्दो नभएको स्थानीय जंग पुनले वताउनुभयो । यस क्षेत्रमा पर्ने तीन गाविसका स्थानीयले अझैसम्म जिल्लामै उत्पादन भएको विद्युत्त उपभोग गर्न पाएका छैन ।
एक नगरपालिका र ४२ गाविसमध्ये अन्य गाविसमा विद्युत्त विस्तार भईसकेको नेपाल विद्युत्त प्राधिकरण विजुवार प्यूठानले जनाएको छ । विद्युत विस्तार नभएका अन्य गाविसमा विद्युत्तीकरण गर्नका लागि आवश्यक बजेट केन्द्रमा माग गरिएको प्राधिकरणले जनाउको छ ।।