घोराही, ४ मंसिर । मानवअधिकार सञ्जाल दाङले वन्द, हड्तालजस्ता कार्यक्रम नगर्न सम्वन्धित पक्षलाई आग्रह गरेको छ । सञ्जालका संयोजक केशवकुमार शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गरी विरोधका कार्यक्रमलाई पनि शान्तिपूर्ण रुपमा सञ्चालन गर्न आग्रह गरेका हुन् ।
स्वतन्त्ररुपमा मत जाहेर गरी मन परेका जनप्रतिनिधि चुन्न पाउने नागरिक अधिकारलाई सम्मान गर्दै विरोधका कार्यक्रमलाई पनि शान्तिपूर्ण बनाउन सरोकारवालाहरुलाई आग्रह गरिएको छ । लोकतान्त्रिक अभ्यासका रुपमा रहेको निर्वाचनलाई लक्षीत गरी उम्मेदवारमाथि नै आक्रमण गर्ने, तर्साउने र निर्वाचन नै विथोल्ने खालको कार्यले मानवअधिकार हनन हुने भन्दै सञ्जालले संयम र शान्तिपूर्णरुपमा आफना विरोधका कार्यक्रम गर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा आस्थाकै आधारमा कुनै पनि नागरिकमाथि धरपकड गर्ने कार्य तत्काल रोक्न स्थानीय प्रशासनसंग माग गरेको छ । निर्वाचन सुरक्षा नागरिक सुरक्षा र अधिकार संग पनि जोडिएको छ तर आस्थाकै आधारमा घरकै काममा रहेका नागरिकलाई धरपकड गर्ने काम पनि मानवअधिकार विरुद्ध हो यस्तो कार्य तत्काल वन्द हुनुपर्छ– विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै विनाकारण हिरासतमा लिइएका नागरिकलाई तत्काल हिरासतमुक्त गर्न पनि सञ्जालले माग गरेको छ ।
हिरासतको सञ्जालद्धारा अनुगमन
निर्वाचन विरोधि गतिविधि गरेको भन्दै स्थानीय प्रशासनले दाङमा २३ जनालाई गिरफ्तार गरेपछि मानवअधिकार सञ्जाल दाङले हिरासतको निरिक्षण गरेको छ । सञ्जालका संयोजक केशव कुमार शर्मा, नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्य र इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरसहितको सञ्जालको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतको निरिक्षण गरेको हो ।
