वीरेन्द्रनगर, ४ मंसिर । नेपालमै पहिलो पटक नयाँ प्रविधिबाट राष्ट्रिय गौरवको भेरी बबई डाइर्भसन आयोजनामा टनेल बोरिङ मेसिन ९टिबिएम०बाट सुरुङ खन्न शुरु गरिएको छ । सुरुङ खन्न प्रयोग गरिएको अत्याधुनिक प्रविधिको टिबिएमको परिक्षण सफल भएपछि काम शुरु गरिएको हो ।
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनामा करीब एक महीना लगाएर जडान गरिएको मेसिनले ८ नोभेम्बरदेखि सुरुङ खन्न थालेको हो । मेसिनले हालसम्म १ सय ७० मिटर सुरुङ खनिसकेको आयोजनाले बताएको छ । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर रुक्मांगद खनालले १५ दिनको परिक्षण पश्चात् सुरुङ खन्न थालिएको वताए । ‘यसअघि ड्रिलिङ र ब्लाष्टिङद्धारा सुरुङ खन्ने प्रचलन थियो । टिबिएम मेसिन पहिलोपटक प्रयोग गरिरहेका छौं’ उनले भने, ‘परिक्षण सफल भयो । तीव्र गतिले सुरुङ खन्ने काम भैरहेको छ ।’ उनका अनुसार दैनिक १८ घण्टा सञ्चालित टिबिएमले दैनिक १८ देखि २० मिटर सुरुङ खनिरहेको छ ।
प्राविधिकहरुले यस प्रकारको मेसिन नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएकाले परिक्षण सफल हुनेमा शंका गर्दै आएपनि सफल भएको छ । ‘अहिलेसम्म कुनै जटिलता उत्पन्न भएको छैन् । कम्प्यूटर प्रविधिबाट मेसिन सञ्चालन भैरहेको छ’ सिनियर डिभिजनल इन्जिनियर खनालले भने, ‘निर्माणमा संलग्न रहेका चिनिया“ प्राविधिकहरु पनि उत्साही बनेका छन् ।’ ड्रिलिङ र ब्लाष्टिङबाट सुरुङ खन्न सम्भव नभएको अध्ययनले देखाएपछि सिञ्चाई विभागले टिबिएम खरीद गर्ने प्रस्ताव गरेको थियो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको उक्त टिबिएम चीनबाट ल्याइएको हो । आयोजनाको निर्माण चिनिया“ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ गु्रप लिमिटेड ९कोभेक०ले गरिरहेको छ ।
अत्याधुनिक कम्प्युटरबाट सञ्चालित उक्त मेसिन खरीदपूर्व कोभेकले उत्पादक कम्पनीसँग जडानका साथै परिक्षणस्वरुप ५ मिटर सुरुङ खनेर मात्र हस्तान्तरण गर्नुपर्ने माग राखेको थियो । माग अनुसारै उत्पादक कम्पनीले २ सय ५० मिटर लामो मेसिन जडान गरेको हो । सुरुङ खन्ने काम पूर्ण प्रविधियुक्त भएकाले सुरुङ खन्दा निस्किएको माटो बाहिर ल्याउन रेलको प्रयोग गरिएको छ । हाल सुरुङको भित्तामा प्रयोग गरिने रिङको सेग्मेण्ट उत्पादनको काम पनि तीव्र रुपमा भैरहेको छ । सुरुङको भित्तामा प्रयोग गरिने ४ दशमलव २ डायमिटरको रिङका लागि ३० सेन्टिमिटर चौडाइका चार ओटा पिस सेग्मेण्ट बनाइएको छ । सेग्मेण्ट उत्पादनको काम पनि २४ सै घण्टा भैरहेको छ ।
आयोजनामा हालसम्म दुई हजार दुई सय मिटर पहुँच मार्ग निर्माण, अफिस क्याम्प, ठेकेदार कम्पनीको क्याम्प, सेग्मेण्ट प्लाण्ट, क्रसर प्लाण्ट निर्माणको काम सकिएको आयोजनाले बताएको छ । कोभेकले सुरुङ खन्न करीब एक वर्ष ६ महीना लाग्ने अनुमान गरेको छ ।
मेसिनले भेरी र बबई नदीबीचको १२ किमी लामो चुरे पर्वतमा सुरुङ निर्माण गर्नेछ । सरकारले अन्तर जलाधार जलस्थानान्तरण परियोजनामध्ये भेरी–बबईलाई मुलुककै पहिलो तथा नमूना परियोजनाका रुपमा अघि बढाएको छ । मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा वेसिनबाट अर्को वेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्ने जस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भनिएको हो ।
सिञ्चाई विभाग र कोभेकबीच ०७१ माघमा निर्माण शुरु गरी ०७५ फागुनमा सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार अबको डेढ वर्षभित्र सुरुङ निर्माण गरिसक्नुपर्नेछ । सुर्खेतको भेरीगंगा नगरपालिका अन्तर्गत छिन्चु–जाजरकोट सडक खण्डको चिप्लेबाट १५ मिटर अग्लो बा“ध बनाई १२ किमी लामो सुरुङमार्फत भेरी नदीको प्रति सेकेण्ड ४० घनमिटर पानीलाई बबईमा मिसाइनेछ ।
बबईमा मिसाइएको पानीबाट ४८ मेगावाट विद्युत तथा बा“के र बर्दियाको ५१ हजार हेक्टरमा सिञ्चाई सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य छ । स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजनाको कूल लागत साढे १६ अर्ब रुपैयाँ हुने अनुमान छ । बाह्रै महीना हुने सिञ्चाईबाट कृषि उत्पादन बढ्न गई वार्षिक रू। ३ अर्ब अप्रत्यक्ष तथा विद्युतबाट दुई अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान छ ।
तीन चरणमा निर्माण गरिने यो आयोजनाको पहिलो चरणमा सुरुङ खनिनेछ भने दोस्रो चरणमा ४८ मेगावाटको बिजुली निकाली राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । तेस्रो चरणमा सिञ्चाइका लागि काम गरिनेछ ।
विनोद लम्साल /अभियान










