दाङ, ३० कार्तिक । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दाङमा लोकतान्त्रिक गठबन्धन हुने भएको छ । आगामी निर्वाचनकालागि दाङमा राप्रपा र राप्रपा प्रजातान्त्रिक पनि कांग्रेससँग सहकार्य गरेर जाने भएपछि लोकतान्त्रिक गठबन्धन भएको हो । तीन दलको सहकार्यसँगै नेपाली कांग्रेसका उमेद्वारहरु विजयी हुने आधार झनै बलियो बनेको छ ।

COngressबुधवार घोराहीमा बसेको तीन दलको बैठकले निर्वाचनमा कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच सहकार्य गरेर जाने निर्णय हो । कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकका जिल्ला स्तरका नेतृत्वबीचको बैठकले लोकतान्त्रिक शक्तिलाई बिजयी बनाउनका लागि निर्वाचनमासँगै जाने निर्णय गरेका हुन ।

नेपाली कांग्रेसका जिल्ला सभापति कृतिबहादुर खड्का, राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष नरेशजंग राना लगायत नेताहरुको सहभागीता रहेको बैठकले आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको पक्षमा जिल्लामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उमेद्वारहरुलाई सहयोग गर्ने निर्णय गरेको छ ।

जसका लागि आफ्नो पार्टीका संघसंस्था एवं भातृ संस्थाहरुलाई सहकार्यबारे जानकारी गराएर सबै लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई विजयी बनाउनतर्फ लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । साथै कांग्रेस, राप्रपा र राप्रपा प्रजातान्त्रिकले वडा तथा गाँउगाँउमा संयुक्त प्रचारप्रसार समिति बनाएर उमेद्वार विजयी बनाउनका लागि पहल गर्ने निर्णय गरेको छ ।