माओवादी आन्दोलनकी एक यात्री हुन् दामा शर्मा । २०६४ सालमा दाङको साविक २ नं. निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित दामा शर्मा २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा विधायक रहेर काम गरिसक्नुभएको उहाँ दाङका लागि अपरिचित होइन ।
पार्टीभित्र महिला नेतृ र पार्टी जिम्मेवार निकायमा रहेकी उहाँ अहिले प्रदेशका लागि जिल्लाबाट समानुपातिक पदका लागि उम्मेदवार रहनुभएको छ । ०४६ सालपछि राजनीतिक यात्रा शुरुवात गरेकी दामा शुरुमा अखिल नेपाल महिला संघको इकाईमा रहेर राजनीतिक जीवनको शुरुवात गर्नुभएको थियो ।
क्रान्तिमा बलिदान गरेको एक सहिदकी श्रीमती हुनुहुन्छ दामा शर्मा । श्रीमान् यज्ञश्वर शर्मालाई २०५५ भदौ १७ गते कैलालीको कौवापुरमा पार्टी कामको सिलसिलामा गएको बेला प्रहरीले गोली हानी हत्या गरेको थियो ।
रुकुमका यज्ञश्वरसँग दामाको २०४९ सालमा विवाह भएको थियो । शर्माका हाल १ छोरी र १ छोरा रहेका छन् । पार्टी काममा रुकुमबाट श्रीमानसँगै सरुवा भएर २०५५ मा कैलाली रहेकी दामालाई प्रहरीले १ वर्षे दुधे बालकसँगै पक्राउ गरी झण्डै दुई वर्ष जेल–हिरासतमा राखेको थियो ।
जेलबाट छुटेपछि उहाँ माइती जिल्ला दाङमा आएर पार्टी संगठन निर्माणको काममा लाग्नुभएको थियो । अहिले माओवादी केन्द्रको पोलिटव्युरो सदस्य रहनुभएकी दामा अनुभव र दक्षताले प्रदेशको मन्त्री राम्रोसँग चलाउन सक्नुहुन्छ ।
सम्भवतः पार्टीले दाङबाट उहाँलाई नै प्रदेशमन्त्रीमा चुन्ने देखिन्छ । अहिले समानुपातिकका लागि गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हमा भोट माग्दै जनताको माझ पुगेकी दामा जनताले मत दिएर आफूलाई जिताएमा दाङको विकास जनतासँगै रहेर गर्ने बताउनुहुन्छ ।
