दाङ, २३ कार्तिक । नेकपा माओवादी केन्द्र दाङका सल्लाहकार एवं दाङका अग्रज कम्युनिष्ट नेता फनिन्द्र घिमिरेको निधन भएको छ । केही समय पहिलेदेखि क्यान्सरबाट पीडित घिमिरेको बिहीबार दिउँसो घोराही–१७ बर्गदी घरमै निधन भएको हो ।
२०१३ सालमा जन्मिनुभएका घिमिरे शिक्षण पेसाबाट निवृत्त भइसकेपछि राजनीतिक कार्यकर्ताको रुपमा रहदै आएका थिए । जनयुद्धको शुरुवाती समयमा केही महिना जेल जीवनसमेत ब्यहोर्नुभएका उनी आजीवन कम्युनिष्ट पार्टीमै रहेका थिए ।
पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनमा सहभागी भएर यस क्षेत्रका किसान आन्दोलनलगायत जनपक्षीय काममा लागेका घिमिरे जनयुद्धको शुरुवातसँगै माओवादी पार्टीमा आबद्ध भएका थिए ।
वभिन्न कालखण्डमा शिक्षक संगठन, बुद्धिजीवी संगठन, किसान संगठनमा समेत बसेर काम गर्नुभएका उहाँ पछिल्लो समय नेकपा माओवादी केन्द्र दाङका सल्लाहकार हुनुहुन्थ्यो । उनलाई आज (बिहीबार) नै सिस्ने खोला र कटुवा खोलाको दोभानमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता, दाङ २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा, दाङ २ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले दाहसंस्कार स्थलमै पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले बताए ।