इन्द्रेणी संवाददाता
दाङ, २२ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं उपप्रधानमन्धी कृष्णबहादुर महराले दाङलाई पाँच नम्बर प्रदेशको राजधानी गराउदै समृद्धिको बाटोमा लैजाने काम जारी रहेको बताएका छन् ।
आज दाङको घोराहीमा आयोजना गरिएको वाम गठबन्धनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले दाङ सबै क्षेत्रको सम्भावित जिल्ला भएको भन्दै यसको संमृद्धिको लागि आफू लागिपरेको बताए ।
दाङको भुगोल र वातावरणले सबै प्रकारको विकासका लागि साथ दिएको भन्दै उनले यहाँ कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण किसिमको विकास गर्न सकिने बताए । उनले दाङ यसका कारण पनि प्रादेशिक राजधनीको लागि उपयुक्त भएको बताए ।
नेता महराले यहाँ अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना पनि रहेको बताए । दाङ सबै प्रदेशका मुख्य शहरसँग जोडिएको भन्दै उनले ५ नम्बर प्रदेश मुलुककै नमुना प्रदेश बन्ने र पश्चिम नेपालकै उत्कृष्ट प्रदेश बन्ने दावी गरे ।
‘दाङ उपत्यका एशियाकै दोस्रो ठूलो उपत्यका हो । नेपालको सबैभन्दा ठूलो उपत्यका हो । भूगोलले हामीलाई निकै साथ दिएको छ’, उनले भने, ‘दोस्रो, कुरा वातावरणीय हिसाबले निकै राम्रो छ । यो विशुद्ध तराई होइन । यो पूरै पहाड पनि होइन । यहाँको समुदाय असाध्यै सहमतिपूर्ण तरिकाले अघि बढ्न सक्ने सम्भावना छ ।’
त्यस्तै यही बाटो भएर प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी जान सकिने र जलजला, छायाक्षेत्र र कर्णालीको रारालाई दाङसँग जोड्न सकिने उनले बताए । यी सबै क्षेत्रलाई हामीले जोडेर यसलाई केन्द्रविन्दु बनाउनु पर्छ । यसको आधारमा दाङ यस क्षेत्रकै आर्थिक हव बन्न सक्ने दावी गरे ।
पाँच नम्बर प्रदेशको राजधानी दाङ हुने सम्भावना बढेको र आफ्नोे तर्फबाट पहल गरिरहेको बताए ।
