भरतपुर, १८ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थीर सरकारका लागि बामपन्थी शक्तिहरुले जित्नुपर्ने बताएका छन् । भरतपुर १४ शिबनगरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
‘स्थीर सरकारका लागि बामपन्थी शक्तिहरुले जित्नुपर्छ। पाँच वर्षका लागि स्थीर सरकार बन्यो भने देशको मुहार फेरिन्छ” प्रचण्डले भने “मैले १० महिनामा जुन काम गरें, त्यसले ईच्छाशक्ति भयो भने धेरै कुरा गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ। ५ वर्ष स्थीर सरकार बनाएर हामी देशको विकास र समृद्धिमा क्रान्तिकारी रुपान्तरण गर्न चाहन्छौं।”
चितवन क्षेत्र नं ३ का उम्मेद्वार रहेका अध्यक्ष प्रचण्डले चितवनमा आफ्नो उम्मेदवारी पुनर्मिलन पनि भएको बताए । उनले भने “अब चितवन आउँदा छुट्टै भावना पैदा हुन्छ, बचपनमा सँगै खेलेका पढेका साथीहरुसँग पुनर्मिलन भएको छ। हुर्काएका काका, काकी हुनुहुन्छ, पढाएका गुरुहरु हुनुहुन्छ। यसले मलाई पुराना दिनहरुको स्मरण गराएको छ ।
बाम लोकतान्त्रिक गठबन्धनपछि चुनाव रोक्न अनेक प्रयास गरिएको भन्दै प्रचण्डले भने, ‘गीरिजाबाबूले कांग्रेस हार्छ भन्ने सोचेको भए चुनाव हुँदैनथ्यो। मैले त्यसरी सोचेको भए स्थानीय तहको चुनाव हुदैनथ्यो। अहिले कांग्रेसले हार्छ कि भन्ने हिसाब गर्न थालिएको छ। अहिले नै धेरै कुरा भन्दिनँ, समय आएपछि भनुँला।