दाङ १७ कार्तिक । तरुण दल दाङका जिल्ला सचिव तथा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य नरेन्द्र पुनले आफ्नो पद तथा साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरेका छन् । उनले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, “अब एक स्वतन्त्र नागरिकको हैसियतले बस्ने निधो गरेको छु ।”

narendra pun“आगामी दिनमा गन्तव्य जता पनि हुनसक्छ”, पुनले भनेका छन्, “तथापि वर्तमान परिवेशमा शुद्ध समाजसेवातिर नै अग्रसर रहनेछु ।” यहाँसम्म आफूलाई साथ, सहयोग र अमूल्य सुझाव दिनुहुने कांग्रेसका अग्रज, दौतरी र भाइबहिनीहरू सबैप्रति सम्मान व्यक्त गर्दै कांग्रेसको राजनीतिक यात्रामा पूर्णविराम लगाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “यो मेरो निर्णय व्यक्तिगत हो । हरेक नागरिकलाई पार्टी रोज्ने अधिकार छ, त्यो उसको नैसर्गिक अधिकार पनि हो तसर्थ संघ र प्रदेश लगायत भैपरी आउने निर्वाचनमा मेरो मताधिकार पार्टीभन्दा असल राजनीति र नेतालाई रहनेछ ।” राजीनामासँगै ४ दशक लामो कांग्रेससँगको आफ्नो राजनीतिक यात्रा समाप्त भएको कांग्रेसका सबै तहलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ ।