शरद पोख्रेल
मौसम अचम्म बनेको छ आजभोलि। खासमा टोकियोमा गएको ७ दिनदेखि लगातार झरी परिरहेको छ। यो झरीले त झन् एक्लोपन महशुस गराउने रहेछ। घाम नहासेकोले होला शायद मन पनि हास्न सकेन। कस्तो दिक्क लाग्दो मौसम। कपडा धुनुपर्ने। मोजा गन्हाउने भैसके। जिन्दगी जस्तै। मौसमको सेड्युलमा अझै तीन चार दिन यस्तै छ। झरीसँगै चिसो पनि अत्याधिक छ।अघिल्लो दिनको मध्यरातसम्मको ड्युटी, अनि आजको बिदाले शरीर उठ्नै मानेन। बेडमा पल्टाइरह्यो उसले आफूलाई। आज शनिबार कलेज बिदा, अनि तिहार आफैले राखेको कामको बिदा। शरीर त्यसै अल्छियो।

खुट्टाको छेउका सिसा झ्याल खुट्टाले नै थोरै घर्क्यायो। एक हुल जाडो भित्र पसे तछाडमछाड गर्दै । कहिलेकाहि आफन्तकारीको हमला पनि यस्तै गरि हुन्छ। भित्रको तातो र बाहिरको चिसोलाई सिरकले ब्यालेन्स गर्दै चार्जमा राखेको मोबाइलमा थिचे । आज त तिहार पो त। फेसबुकका अनेकथरी रंगीचंगी तस्बिरले घायल बनायो । परदेशीएको चार बर्ष पुगेछ। निधारमा सप्तरंगी टिका र मखमली माला नभिरेको पनि चार चार बर्ष पुगेछन् । यतिका बर्ष कसरी बिते ? दिदीको यादले अनायासै आकुल ब्याकुल बनायो। बिगतका ती दिन यी रेलका डब्बा जस्तै लस्कर लागेर अगाडि आए।
त्यो बेला झगडा परिरन्थ्यो। मैले खाना खादा बस्ने पिर्कामा दिदी बसी। मैले दुध खाने गिलास दिदीलाई पर्यो। यस्तै यस्तै। खासमा मेरो सानोमा सबै कुरा जस्तो पर्सनल हुन्थे। पिर्का,चकटी, थाल कचौरा गिलास्, हसिया आदि । दिदीको र मेरो उमेरमा खासै फरक नभएकाले पनि ऊ पनि मेरै सामान प्रयोग गर्न रूचाउथी। तर म कान्छो न परे। जित त मेरो नै सुनिश्चित थियो। कहिले काहि म आफै निहु खोज्थे र दिदीलाई पिटाउथे। खुब मज्जा आउथ्यो। जब दिदी रून्थी अनि फेरि म आफै फकाउथे। गजबको माया हाम्रो। दादा ठूलो पर्यो। कुरै नमिल्ने। तर दिदी..! अचम्मको हाम्रो दोस्तियारी। हामी त्योबेला बोकाबोक खूब खेल्थ्यौँ। आगनको अलि तल डिलमा ठुलो निमको रूख छ। त्यहासम्म पालै पालो बोक्ने खेल। घरको ढोकाबाट त्यहा सम्म जादा एउटाले बोकेर लैजाने, आउदा अर्कोले बोकेर ल्याउने। कैले काही मैले बिचबाटो मै हात छोडेर पछारीदिन्थे।झ्याल्टी गर्थे।
बेलुका बुवाले पढ्ने कोठामा जाओ नभन्दा सम्म बैठक कोठाको एउटा कुनामा बसेर चिमोटा चिमोट खेल्न ब्यस्त भइन्थ्यो। आएका पाहुना र बुवहरूको गफ सुन्न अचम्म मन पर्ने हामीलाई बुवाको एक खौकाईले लुरूक्क पुछुर गराएर तालमाथि पुर्याउथ्यो। कोठामा पुगेर फेरि सुरू हुन्थ्यो दिदीभाइको रेस्लिङ। रेफ्री बन्न बुवा आउनुहुन्थ्यो र दुबैजनालाई बिजय गराएर एकेक झापट पुरस्कार थमाइदिनु हुन्थ्यो। क्या मस्तका दिन थिए। सोक न सुर्ता भोक न भकारी। ती दिन र दिदीलाई सम्झिरहे।
हामी उटपट्याङमै ब्यस्त हुन्थ्यौँ प्राय। मलाई घर बाहिर र आफन्तले राम्रो र ज्ञानी बच्चा भन्थे ऊ बेलामा। म गमक्क पर्थे। तर दिदीसँग चै म खुबै झगडा गर्थे। शायद त्यही झगडा नै माया थियो त्यती बेलाको। बाल्यकालमा माया दर्शाउने माध्यम भनेकै झगडा जस्तो लाग्थ्यो। अरू त कोसँग झगडा गर्नु र। हाम्रो उटपट्याङले बेला बेला सिमा नाग्थ्यो। हिजो लगाएको आलु आज कति ठूलो भए होला भनेर हामी बारीमा रोपेको आलु समेत निकालेर हेर्थ्यौँ। बिहान रोपेको फुलगोबीको जरा कति लामो भएछ भनेर अनुसन्धान गर्थ्यौँ। कहिलेकाहि यस्तै अनुसन्धानको क्रममा बुवाले हामीलाई रंगे हात पक्राउ गर्नुहुन्थ्यो। त्यसैले उच्च साबधानी अपनाएर हामी बुवा घरमा नभएको मौका छोप्थ्यौँ। हाम्रो लगातारको अनुसन्धान पछि ती केही बिरूवा मर्थे, अनि बुवाले फेरि रोप्नुहुन्थो।
एकचोटि खेल्ने क्रममा हाम्रो दिमागमा एउटा अनौठो जिज्ञासाको जन्म भयो। बुढो मान्छेले कस्तो आची गर्छन् भन्ने। अनि भोलिपल्ट बिहानै बजै उठेसँगै उठ्ने र उहाको ट्वाइलेट गर्ने ठाउ पत्ता लगाउने निर्णय भयो। त्यो बेला गाउमा ट्वाइलेट पनि थिएन। खासै आबश्यक पनि लाग्दैनथ्यो। पछि खानेपानीको धारा बिस्तार सँगै हरेक घरमा ट्वाइलेट अनिबार्य गराईयो। अँ कुरा बजैको ट्वाइलेटको। बिहान बजै लोहोटामा पानी बोकेर घरपछिको खोल्से घारीतिर लाग्नुभो । बजैको एउटा सानो खोल्सा आफ्नो प्राइभेट ट्वाइलेट जस्तै रैछ। हामी पुरै सुराकीको तालमा टाढैबाट त्यो लोकेसन कोड गर्न सफल भयौँ। बजै खाली लोहोटा बोकेर फर्किनुभो अनि हामी हाम्रो जिज्ञासा को प्यास मेट्न तिर लाग्यौँ। ठाउमै पुगेर अलि अछट्टै उभिएर हास्दै खुब हेर्यौँ। कस्तो अनौठो जिज्ञासा। बजैले हिजो सायद कालो बेसार खानुभएको थियो। गानोको औषधी भनेर कालो बेसार खाइरहनुहुन्थ्यो। हामीले त्यो भिजिटबाट के निस्कर्ष निकाल्यौ भने बुढामान्छेको आची कालो हुदोरैछ। जिज्ञासा शान्त भो। बालहठ र बालस्वभाव यही नै थियो होला शायद। उमेर बढेसंगै हाम्रा बानीहरू पनि बिस्तारै फेरिदै गए।
आज तिहारको दिन। यसरी म यति टाढा छु। तर मन उही पुगिसक्यो। यति अग्लो घरमा छु। मन भने भुईमा नै लडीबुडी गर्दै रुदै छ। ऊ बेलामा दिदीलाई टिका लगाउदा हजारको नोट दिन मन लाग्थ्यो। दशको नोट थमाइदिदै ल हजारको नोट भन्थे। तर आज म हजारको नोट दिन सक्ने भएको छु। तर मेरो हातले दिदीको निधार नै भेट्दैन। यो चाडपर्व नै यस्तै, खालि घरको र बाल्यकालको मात्रै याद दिलाउने।
साथीहरूसँग रमाइलो गरेर भएपनि मन बुझाउला भनेको, कसैको बिदा परेनछ। म त झन एक्लो पो भएँ। झन मनमा कुरा खेलाएरै जानेभो यो तिहार। बाहिर पानी लगातार परिरहेकै छ। चिसो बढी भो कोठाभित्र। एसी बढाएर झ्याल बन्द गरिदिए। फेरि मोबाइल हेरे। सबैका दिदीबहिनी र दाजुभाइले फेसबुकनै ढाकिएछ। सबैका कति राम्रा फोटा। ती सबैका फोटोमा आफूलाई र दिदीलाई राखेर हेरिरहे मन भरि।











