काठमाडौं, ३२ जेठ । आन्दोलनरत दलहरुका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकाल्दै नयाँ शक्ति नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि संविधान संशोधन गरिनुपर्ने, भ्रष्टाचार र जनताले भोग्नुपरेका कालोबजारीका समस्याप्रति सरकार गम्भिर हुनुपर्ने लगायतका विभिन्न्ा ८ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।
भेलाको समापनका क्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पार्टीको दुष्मन कोही नरहेको भन्दै जतिसक्दो धेरैलाई समेट्ने कार्यशैली अपनाएर संगठन विस्तार गर्न सदस्यहरुलाई निर्देशन दिए । उनले साधारण सदस्यहरुको ठूलो संख्याले सामूहिक रुपमा सपथ खाएर सानदार ढंगले पार्टीको सुरुवात भएको भन्दै पार्टीले अब समुद्रको गहिराइमा पुगेर मोती निकाल्ने गरी काम गर्ने बताए ।
उनले भारत र चीन जस्ता ठूला बजार नजिकै रहेको तथा प्राकृतिक र जैविक रुपमा नेपाल निकै धनी रहेको भन्दै सकारात्मक सोच लिएर काम गर्दा मुलुकमा आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको बताए । आलोचना गर्नेहरुलाई जवाफ फर्काएर भन्दा रुखले झैं फल दिने गरी काम गरेर मुलुकलाई समृद्ध बनाइ छाड्ने अठोट उनले गरे ।