काठमाडौं, २३ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसको दाङ जिल्लाले कानुनले नै पाखा लगाएका व्यक्तिलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको छ ।

wsgsgसंविधान, राजनीतिक दलसम्बन्धी विधेयक र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन विधेयकसम्मले कांग्रेसका नेता खुमबहादुर खड्कालाई उम्मेदवार बन्न नपाउने गरी राजनीतिक भविष्य समाप्त पारिदिएको छ । अन्नपूर्ण पोष्टमा खबर छ- तर, उनै खड्काको नाम कांग्रेसको दाङ जिल्लाले प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि सिफारिस गरी पठाएको हो ।

खड्कासँगै उक्त क्षेत्रबाट कांग्रेसले पार्वती डिसी चौधरी, सुशीला चौधरी, पूर्वसांसद कृष्णकिशोर घिमिरे र प्रदीप थापालाई उम्मेदवार बनाउन सिफारिस गर्दै केन्द्रमा नाम पठाएको छ । भ्रष्टाचार, फौजदारी मुद्दालगायत कसुरमा दोषी ठहर व्यक्तिले निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कानुन बनेको छ । खड्कालाई सर्वोच्च अदालतले ३० साउन ०६९ मा भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ बिगो र त्यति नै जरिवाना गर्ने फैसला सुनाएको थियो ।

पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै सर्वोच्चका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई दोषी ठहर गरेको थियो ।खड्का सोही आधारमा जेल सजाय भुक्तान गरेका व्यक्तिसमेत हुन् । राजनीतिक दलसम्बन्धी कानुनअनुसार खड्का कांग्रेसको पार्टी साधारण सदस्यसमेत बन्न पाउँदैनन् ।

तर, उनलाई कांग्रेसले अहिलेसम्म पार्टी केन्द्रीय सदस्यकै रूपमा राखिरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक संसद्मा पारित गर्ने क्रममा कांग्रेस सांसदहरूले भ्रष्टाचारको मुद्दामा सजाय पाएकाले पनि उम्मेदवार बन्न पाउनुपर्ने भन्दै विधेयकमाथि संशोधनसमेत राखेका थिए । तर, संसद्को १९ भदौको बैठकले त्यस्ता व्यक्तिले चुनाव लड्न नपाउने गरी विधेयक पारित गरेपछि खड्काको राजनीति गर्ने सबै बाटो बन्द गरिदिएको थियो ।