३२ जेठ, मोरङ ।
विराटनगर उपमहानगरपालिका–२ का टीका उप्रेतीको घरको किर्ते फाइल खडा गरेर नक्सा पास गराउने विराटनगर उपमहानगरपालिकाका दुई कर्मचारीको नोकरी गएको छ ।Biratnagar-Sub-Metropoliton-Officeत्यसैगरी दुई जना निलम्बनमा परेका छन् ।

विराटनगर उपमहानगरपालिका, प्रशासन शाखा प्रमुख नन्दीकेशर भण्डारीका अनुसार इन्जिनियर रेवन्त भण्डारी र २०६३ सालमा नियुक्ति भएका विनोदप्रकाश गौतमको करार भङ्ग गर्दै उपमहानगरपालिकाले बर्खास्त गरेको हो । उनीहरुसँगै खरिदार निरञ्जन भनिने निराला प्रसाईं र नासु सुनिलवीर पाण्डेलाई पनि निलम्बन गरिएको भण्डारीले जानकारी दिए।

प्रसाईं र पाण्डे स्थायी कर्मचारी भएकाले हाललाई निलम्बन गरिएको हो । देवकोटा बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका उप्रेती घर जग्गाको राजस्व नतिर्नेमध्येका कालो सूचीमा परेका व्यक्ति हुन् । उप्रेतीलाई दसौँ वर्षदेखिको घरजग्गा तिर्न नगरपालिकाले पत्राचार गरे पनि उनले अटेर गर्दै आएका थिए ।

प्रशासन शाखा प्रमुख भण्डारीका अनुसार जेठ ३१ गते बेलुकाको निर्णय अनुसार उनीहरुलाई कारबाही गरिएको छ । निलम्बित प्रसाईं मुखियाबाट नगरपालिकाको कर्मचारीका रुपमा तथा पाण्डे २०५७ सालमा गाउँ नगर साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकामा प्रवेश गरेका हुन् । बर्खास्तमा परेका गौतम भने विभिन्न क्षेत्रमा काम गर्दै उपमहानगरपालिकामा करारमा थिए ।

उपमहानगरपालिकाका अनुसार लामो समयदेखि देवकोटा बोर्डिङ सञ्चालन गर्दै आएका उप्रेतीको बोर्डिङ स्कुल रहेको घरको नक्सा पास नभएको र उपमहानगरपालिकासँग मुद्दा लड्दै उनले घरलाई जोगाइराखेका थिए । चार कट्ठा १६ धुर र चार कट्ठा १३ धुरका भिन्दाभिन्दै प्लटमा उनका स्कुल चलेका घर थिए ।।