आश्विन १६ । यो वर्षको नेपालीहरूको ठूलो चाड बडादशैं क्रमशः बिदा हुँदैछ । यो वर्षको दशैंमा विगतका दशैंमा टिका नलगाएका र नेपाली संस्कृतिप्रति खासै वास्ता नगर्ने व्यक्ति तथा परिवारले समेत टिका लगाएको पाइयो । यसै गरी विदेशी तथा अन्य धर्म संस्कृति एवं समुदायका नागरिकहरूले पनि दशैंलाई अवलम्बन गरेका समाचारहरू प्राप्त भएका छन् । जसले दशैंको महत्त्वलाई अझ बढी बढाएको छ । अर्कोतर्फ यस पटक मन्दिरहरूमा देवीलाई चढाईने पशुपँक्षिको बलिमा भारीरुपमा कमि आएको रिपोर्टहरू ठाऊँठाऊँबाट न्यूजटिमलाई प्राप्त भएका छन् ।

Bli pictकेही वर्ष यता नेपाल र नेपालीको उन्नतिप्रगति एवं सद्बुद्धिको लागि धर्म संस्कृतिको नाममा हुने प्राणीहरूको हत्या (बलि)लाई हटाउन पर्ने जनचेतनाका अभियानहरू चलेपछि यो स्थिति आएको हुनसक्ने बताइएको छ । त्यसो त धर्म अध्यात्म आदि प्रवचनहरू तथा स्वास्थ्यको विषयमा पनि चर्चा एवं वहस हुँदा विज्ञहरूले बलिप्रथा सनातन धर्मको नाममा कलङ्क भएको, मांसाहारले स्वास्थ्यमा असाध्य असाध्य रोग निम्त्याउने गरेको जस्ता विचारहरू व्यक्त हुन थालेपछि आम नागरिकमा मांसाहार र प्राणी बलिको बारेमा वितृष्णा आउन थालेको पाइन्छ ।

हजारौं बोका, पाडा, कुखुरा आदिको बलि चढ्ने पर्वतको पैञ्यू कालिका मन्दिरमा यस वर्ष विगतको तुलनामा पचास प्रतिशतभन्दा बढीमात्रामा पशुपँक्षिको बलि घटेको धार्मिक व्यक्तित्त्व पं. टापेन्द्र रिजालले न्यूज टिमलाई बताउनु भएको छ ।

नेपालगञ्जको वागेश्वरीमा पनि यस वर्ष पशुबलि कम भएको रिपोर्ट छ । ज्यो. पं. डा. गौरीशङ्कर शर्माका अनुसार ब्रह्मकुमारी राजयोगलगायतका आध्यात्मिक तथा मानवीय जनचेतना अभिवृद्धि अभियान सञ्चालन गर्ने संघसंस्थाको सक्रियतामा समय समयमा गरिने कार्यक्रमको प्रभावले नेपालगञ्ज क्षेत्रमा बलि तथा प्राणी हिंसामा क्रमशः कम हुँदै गएको छ ।

यसै गरी पशुपँक्षिको बलिको नाममा चर्चामा आउने बाग्लुङ्ग कालिकामा यस वर्ष ठूलोमात्रामा बलि घटेको छ । नवरात्रि लागेदेखि सप्तसतिपाठ गर्ने पण्डित तथा पूजारीहरूलाई उदृत गर्दै कृष्णराज पौडेलले दिएको जानकारी अनुसार सो मन्दिरमा यस वर्ष भारीरुपमा बलि घटे थाहा भएको छ । बसाईसरेर तराईतिर गएका, कामको सिलसिलामा विदेशीएका, देशविदेशका आर्मी प्रहरीलगायतका निकायमा भर्तिहुनको लागि भाकल गरी टाढाटाढाबाट समेत बोका, पाडा आदि लिएर बलि दिन जानेहरूको भीड हुने सो मन्दिरमा यस वर्ष विगतको तुलनामा आधै बलि घटेको बताइएको छ ।

गोरखा मनकामना तथा गोरखकालीमा समेत यस वर्ष पशुपँक्षिको बलि दिनेहरूको सँख्यामा विगतको तुलनामा कमि आएको बताइएको छ । गुप्तेश्वर त्रिवेणी तीर्थधाम मुग्लिङ्गका सदस्य लक्षमण त्रिपाठीका अनुसार मनकामना र गोरखकाली मन्दिरमा यस वर्षको दशैंमा पशुबलिको सँख्यामा निकै कमि आएको छ ।

यता दक्षिणकालीमा बलि दिन लगिएको बोकालाई नमार्न एउटा बालिकाले गरेको अनुनयको युट्युब लिङ्क https://www.youtube.com/watch?v=hOhm3FhKFuA&feature=share सामाजिक सञ्जालमा भाइरल नै भएको छ । जसलाई हेरे पछि कसको मन गम्भीर भएन होला र ? माँ दक्षिणकालिले नै ती बालिकामार्फत आफूलाई प्राणी बलि नगर्नु भनेको अर्थ दैवीय भाषा बुझ्नेहरू ले गरेका छन् । बालिका जसलाई साक्षात् देवीरुपमा नवरात्रमा पूजा गरिन्छ पनि ।

यसै गरी शहरतिर पनि घरमा मार हान्नेको सँख्यामा भारीरुपमा कमि आएको रिपोर्ट छ । चेतनशील मस्तिष्कहरूको युग एक्काइसौं शताब्धिको परिवेशमा पनि धर्मको नाममा, देवीदेवताको नाममा, भगवानको नाममा निरीह प्राणीहरूको हत्या गर्ने कार्यलाई निरन्तरता दिनु वा यसको पक्षमा वकालत गर्नु भनेको त्यो मानव मस्तिष्क नभएर दानव मस्तिष्कको कार्य हो । मन्दिर भनेको धर्म–अध्यात्मसँग सम्बन्धित ज्ञान हासिल गर्ने, ज्ञानबोध गर्ने पवित्र स्थल हुन् नकि वधशाला । चाहे त्यो हिन्दु धर्म संस्कृतिको नाममा होस, चाहे मुस्लिम वा अन्य कुनैको पनि, धार्मिक तथा सांस्कृतिक कार्यमा, भगवानको नाममा वा देवी देवताको नाममा निरीह प्राणीको हत्या हुने काम रोकिनु पर्छ ।

दशैंसँग जोडिएका केही यस्ता विकृतिहरू हटाउन सक्ने हो भने दशैं विश्वव्यापि महान् चाड बन्ने निश्चित प्राय भइसकेको छ । यसभित्र यस्ता केही वैज्ञानिकता लुकेका छन् जुन विश्वका अन्यत्र मनाइने चाड तथा उत्सव कुनैमा पनि पाईदैन । क्रमशः विश्वले नै दशैंको सकारात्मक पक्षलाई अनुशरण गर्ने देखिन्छ नकि यसभित्रका कलङ्कित बलि जस्ता घृणित पक्षलाई ।

दशैंलाई संस्कृतिको रुपमा अप्नाउनु पर्नेमा यसको नाममा हत्या हिंसा जस्ता कार्यहरू भएर विकृत हुँदै आएकोमा अब क्रमशः नेपाली समाजबाट जसरी सतिप्रथा हट्यो त्यसै गरी बलिप्रथा पनि उन्नमूलन गर्नुपर्ने र त्यो जनचेतना अभिवृद्धिसँगै सम्भव हुने कुरामा अहिंसावादी समाज आशा वादी देखिएको छ ।

धर्मलाई विकृतिमूलक नभएर अध्यात्मिक ज्ञानको स्रोत बनाउँदै समाजमा अहिंसाको व्यवहारलाई प्रसय दिनुपर्ने तर्फ चेतनशील मानव समुदायको अभिमत देखिन्छ । मार्नु धर्म हो, हत्या गर्नु संस्कृति हो भने पाप र विकृति के हो ? जस्ता प्रश्नहरूले मान्छेको चेतन मानसपटललाई घच्घच्याउन थालेको छ । र क्रमशः बलिप्रथा जस्तो मानवता विरोधी, धर्म संस्कृतिको कलङ्कित रुपको घृणित कार्यमा कमि आउँदैछ ।

दशैंको सन्दर्भमा विभिन्न अहिंसावादी संघसंगठन, धार्मिक–आध्यात्मिक अभियन्ताहरूले पशुपँक्षिको बलि (हत्या)लाई निरुत्साहित गर्ने खालका सन्देशहरू जारी गरेका पनि थिए । धर्म संस्कृतिको नाममा ऐजेरुको रुपमा पलाएको बलिप्रथालाई अबको चेतनशील मानव सभ्यताले हटाउन आवश्यक देखिन्छ ।