दाङ,  ३१ भदौ । स्थानिय विद्यालय र मन्दीरको भौतिक विकासका लागि घोराही ४ सुनपुरमा श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरमा रहेको आधारभुत विद्यालय, शिव मन्दीर भकारे र देवी मन्दीर सुनपुरको भौतिक विकासका लागि श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने भएको हो ।

यहि असोजको ५ गते देखि १३ गते सम्म श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने मुल आयोजक समितिका अध्यक्ष पवित्रा रानाले जानकारी दिनुभयो । सुनपुरमा रहेका सार्वजनिक सम्पदाहरुको भौतिक निर्माण, सुधार र विकासका लागि श्रीमद् देवी भागवत ज्ञानमहायज्ञको आयोजना गरेको मुल आयोजक समितिले बताएको छ । ९ दिन सम्म सञ्चालन हुने महायज्ञमा पण्डित कोमल उपाध्यायले देवी भागवत महापुराणमा कथा बाचन गर्ने कार्यक्रम रहेको आयोजक समितिका सदस्य उमेश विकले जानकारी दिनुभयो ।

श्रीमद् देवी भागवत ज्ञानमहायज्ञको पहिलो दिन आसोज ५ गते भब्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरीने भएको छ । त्यसका लागि विभिन्न स्थानबाट झाकि जुलुस, कलश सहितको शोभा यात्रा निकालिने आयोजक समितिले बताएको छ । साथै महायज्ञ अबधी भर विभिन्न राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती राखिने आयोजकले व्यवस्था मिलाएको छ ।

आधारभुत विद्यालय सुनपुरको प्राङगणमा हुने महायज्ञको सम्पुर्ण तयारी तिव्र पारिएको छ । आयोजक समितिका अनुसार श्रीमद् देवी भागवत ज्ञानमहायज्ञमा तुलादान, भुमिदान, अन्न दान, नगद दान गर्न सकिने छ ।

त्यस्तै कलशका लागि एक हजार एक सय १ रुपैया, ब्रहमण भोजन १ दिनको १५ हजार ५ रुपैया, प्रसाद वितरण १ दिनका लागि १५ हजार ५ रुपैया, आरती सेवा एक दिनका लागि ५ हजार ५ रुपैया, विशेष पुजा १ दिनका लागि ५ हजार ५ रुपैया, ब्राहम्ण बरणी १ दिनका लागि ५ हजार ५ रुपैया, ब्रतबन्ध महभागि हुन ५ हजार ५ रुपैया, र यज्ञ मण्डपमा वितृको फोटो स्थापनाका लागि ५ हजार ५ रुपैया तोकिएको समेत आयोजक समितिका सदस्य उमेश विकले जानकारी दिनुभयो ।

साथै श्रीमद् देवी भागवत ज्ञानमहायज्ञको अबसरमा दानवीरहरुलाई विभिन्न सम्मानको कार्यक्रमहरु समेत राखिएको आयोजकले बताएको छ । पाँच रुपैया सम्मदानपत्रमा राखिने, पाँच सय १ रुपैया देखि एक हजार १ रुपैया सम्म धर्मखातामा दानवीरको नाम लेखिनेछ । यस्तै एक हजार एक रुपैया देखि पाँच हजार रुपैया सम्म दान गर्ने दानवीरलाई सादा सम्मान पत्र प्रदान गरीनेछ भने पाँच हजार एक रुपैया देखि २१ हजार रुपैया सम्म सहयोग गर्ने दानवीरलाई फ्रेम सहितको सम्मान पत्रले सम्मान गरीने आयोजकले बताएको छ ।

त्यस्तै २१ हजार एक रुपैया देखि ५० हजार रुपैया सम्म सहयोग गर्ने दानवीरको शिलालेखमा नाम सहित रामनाम ओढाएर सम्मानपत्रले सम्माने गरीने, ५० हजार १ रुपैया देखि एक लाख रुपैया सम्म सहयोग गर्ने दानवीरलाई दोसल्ला ओढाएर चाँदीको फ्रेम सहितको सम्मान पत्रले सम्मान गरीने, एक लाख एक रुपैया देखि पाँच लाख रुपैया सम्म सहयोग गर्नेलाई शिलालेखमा दानवीरको दुई पुस्ते नाम सहित दोसल्ला ओढाई गोल्डेन फ्रेमको सम्मानपत्रले सम्मान गरीनेछ ।

त्यसैगरी ५ लाख एक रुपैया देखि १० लाख रुपैया सहयोग गर्ने दानवीरको शिलालेखमा ५ पुस्ते नाम सहित दोसल्ला ओढाई गोल्डेन फ्रेममा सम्मानपत्र सहित सम्मान गरीनेछ भने दाताकै नाममा राधाकृष्ण मुर्ति स्थापना गरीने आयोजकले बताएको छ ।