इन्द्रेणी संवाददाता
घोराही, ३१ जेठ
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको वेस स्टेशनमा आगजनी गरेको अभियोगमा आफ्ना ४ जना जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको भन्दै बिप्लव माओवादी दाङले रिहाइको माग गरेको छ । बिप्लव नेतृत्वको नेकपा माओबादी दाङकाले सेक्रेटरी सितलले जिल्ला सदस्य सिसहनियाका यमलाल पूजाँली र सुन्डवरीका पूर्ण खनाललाई प्रहरीले देउखुरीबाट पक्राउ गरेको भन्दै रिहाइको माग गर्नुभएको हो ।
यस्तै घोराहीबाट ज्वाला खतिवडा र हापुरका भिमबहादुर विकलाई आज नारायणपुरबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई सोधपुछ भैरहेको प्रहरीले बताएको छ । एनसेलको वेस स्टेशनमा आगजनी गरेको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भैरहेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
नेकपा माओबादीका जिल्ला सेक्रेटरी बलबहादुर वली सितलले आशंकाको भरमा पार्टी कार्यकर्ताहरुलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाईको माग गर्नुभएको छ । सितलले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै आशंकाको भरमा पक्राउ गर दुःख दिने नियत राखेको उल्लेख गर्नुभएको छ ।
एनेसलको टावर आगजनीमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको उहाँको भनाई छ । घरघरमा पुगेर आशंकाको भरमा हाम्रा कार्यकर्ताहरुलाई गिरफस्तार गरिएको छ उनिहरुको बिनासर्त तत्काल रिहाईको माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।।
