३० जेठ, म्याग्दी । शनिबार राति आएको बाढीले म्याग्दी सदरमुकाम बेनी बजारमा एक सयभन्दा बढी घर तथा पसलमा क्षति पुर्याएको छ ।
बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट राति ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मङ्गलाघाटका घरभित्र पसेको हो । लेदो र beniढुङ्गासहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरमा पसेको हो ।

बेनी पाखापानी सडकको आँपरुखखण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घर डुबानमा परेका हुन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पीपलचोक, गणेशटोल, सङ्गमचोक र न्युरोडको हुलाकचोक बैंकचोकसम्मका घर प्रभावित भएका छन् ।

मङ्गलाघाटको साइबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरमा पनि बाढी पसेको छ । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोबाइल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको क्याम्पसचोकका बासिन्दा गोविन्द बानियाँले बताउनुभयो । बाढी नियन्त्रण र व्यवस्थापनमा प्रहरी, सेना र स्थानीयवासी खटेका थिए ।

बाढीको त्रासका कारण बेनी बजारका बासिन्दा रातभर जाग्राम बसेका छन् । घर अगाडिको सडकमा करिब डेढ मिटर माथिसम्म पानी बगीरहेको छ ।