इन्द्रेणी संवाददाता
दाङ, १४ भदौ । दाङको घोराही उपमहानगरपालिका वडा नंं १५ स्थित भिमसेन टोल विकास संस्था आफनै लगानीमा फोहरमैला व्यवस्थापनमा जुटेको छ । संस्थाले आफनै लगानीमा टोल विकास संस्थामा डस्टविन वितरण गरेको छ ।
घरभित्रको फोहरमैला व्यवस्थापन भएपनि सडकमा हिडडुल गर्नेहरुले गर्ने फोहरमैला व्यवस्थापमा सहज गराउनका लागि टोल विकास संस्थाले करीव १० हजार रुपैयाँ लगानी गरेर डस्टविन वितरण गरेको हो । वितरण भएका डस्टविनहरु सडकको छेउमा रहेका विद्युतको पोलमा झुण्ड्याइएको छ । उक्त डस्टविनमा फोहर फाल्नका लागि स्थानीय तथा वाटोमा हिडने बट्वालाई समेत सचेत गराउने टोल विकास संस्थाका अध्यक्ष शिवा श्रेष्ठले बताइन् । डस्टविन देखिदेखि कसैले अटेर गरेर वाहिर फोहर फालेमा पहिले त्यो फोहर उठाएर डस्टविनमा हाल्न लगाउने त्यति गर्न पनि अटेर गरेमा पाँच सय रुपैयाँ समेत जरीवाना गर्ने उनले जानकारी दिइन् ।
‘घरभित्रको फोहरमैला स्थानीयहरुले घरमै संकलन गर्छन र नगरपालिकाको गाडीमा फाल्छन्, तर सडकको फोहर व्यवस्थापनमा हामीले चुनौती देखियो’, उनले भनिन्, ‘त्यसकै कारण हामीले टोलकै लगानीमा यो काम गरेका हौं ।’ टोलमा फोहरमैला व्यवस्थापनका लागि विभिन्न समयमा अभियान नै सञ्चालन गरेको पनि अध्यक्ष श्रेष्ठले बताइन् । जताभाविरुपमा फोहर फाल्नेलाई जरीवाना सहित कारवाही पनि गर्ने गरिएको छ ।
टोलका सडकहरुमा डस्टविन राखिएपनि वटुवाले गर्ने फोहरमा कमी आउने संस्थाको भनाइ छ । संस्थाले बुधवार मात्रै टोलमा डस्टविन वितरण गरेको हो । यो अभियानले टोल विकासको सरसफाइमा मात्रै नभएर समग्र नगरपालिकाको फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताइन् ।