घोराही, १३ भदौ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच थालेको छ । उपमहानगरपालिकाको वडा नम्बर २ बाट ८० बर्ष माथीका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्यक्रम मंगलबार देखी सुरु गरिएको हो ।

ghar mai doctor sewa

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र डाक्टर सहितको टोली घोराही २ कालिमाटी गाउँमा पुगेर जेष्ठ नागरिक ८० बर्षिय कुलानन्द पुरी र उहाँकी श्रीमति ८० बर्षिया चेतादेवी पुरीको स्वास्थ्य जाँच गरि जेष्ठ नागरिकको घरमै स्वास्थ्य जाँच अभियानको सुरुवात गरिएको हो ।

राप्ती उपक्षेत्रिय अस्पतालका डा. उमेश रेग्मी, उपमहानगरपालिकाका स्वास्थ्य शाखाका ठाकुर खनाल, स्वास्थ्य चौकी रामपुरका ईन्चार्ज दिपेन्द्र न्यौपाने, स्वास्थ्यकर्मीहरु भुवन रिजाल, टीका थापा, खुम वली, टिआर भण्डारीले जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच, औषधी प्रदान र स्वास्थ्य सुझाब दिएका छन् ।

घोराही उपमहानगरपालिका २ मा ८४ बर्ष उमेर माथीका २२ र पूर्ण अपांगता भएका १७ जनाको घरमै पुगेर स्वास्थ्य जाँच र उपचार गरिने वडा अध्यक्ष केशब आचार्यले जानकारी दिए । मेयर चौधरी सहित स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य जाँच गर्दा जेष्ठ नागरिकहरु खुशी भएका छन् ।

जेष्ठ नागरिकहरुमा प्रेसर, दम, ढाड दुख्ने, खोकीको समस्या देखिएको छ । चिकित्सकको टोली प्राथमिक उपचारहरु घरमै गरेको र जटिल अबस्था भएकालाई उपक्षेत्रिय अस्पतालमा उपचारका लागि बोलाएका छन् ।

निति तथा कार्यक्रमबाट पारित कार्यक्रम भएकाले उपमहानगरका १९ वटै वडामा रहेका जेष्ठ नागरिकहरुको घरमै स्वास्थ्य जाँच गरिने मेयर चौधरीले बताए । वडा अध्यक्षहरुको समन्वयमा सबै जेष्ठ नागरिकहरुको घरमा डाक्टर सहित स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य जाँच सँगै आबस्यक उपचारहरु निशुल्क गरिने उनको भनाई छ ।।