भदौ १३, जनकपुर । सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारीसहित विभिन्न पार्टी परित्याग गरी हजारौं नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरमा आयोजित एक बृहत कार्यक्रमका बीच नवआगन्तुक नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराउनु भएको हो ।

pk

माओवादी केन्द्र प्रवेश गर्दै नेता अन्सारीले देशको एकता, मधेशको हित र परिवर्तनको पक्षमा लड्ने एक मात्र पार्टी माओवादी केन्द्र भएकाले आफू पार्टी प्रवेश गरेको बताउनु भयो । अन्सारीले भन्नुभयो, ‘माओवादी नभएको भए यो देशमा गणतन्त्र नै आउने थिएन, संघीयता आउने थिएन, देशको एकता बलियो हुने थिएन, मधेशी लगायतका सम्पूर्ण जाति र समुदायले आफ्नो अधिकारको कुरा गर्न पाउने थिएनन् । त्यसैले गणतन्त्रको आमा पार्टी माओवादी केन्द्रमा प्रवेश गर्न पाएकोमा गौरवान्वित छु ।’
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेशमा ११ वर्षपछि माओवादीको पक्षमा लहर आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनयुद्धको बेला मधेशमा माओवादीको पक्षमा ठूलो लहर थियो । बीचमा माओवादीमाथि ठूलो षड्यन्त्र रचियो, मधेशमा माओवादीलाई संघीयता विरोधी देखाउन निकै कोशिस गरियो । अहिले ११ वर्षपछि माओवादी केन्द्रको पक्षमा जनलहर आएको छ ।’

पार्टी प्रवेश कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा, विश्वनाथ साह, प्रभू साह, रामकुमार यादव, उर्मिला अर्याल, डाचाराज वाग्ले लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।