इन्द्रेणी संवाददाता
दाङ, ११ भदौ । नेपाल पर्यटन पत्रकार संघ दाङशाखाले दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । आइतवार दाङको घोराहीमा दाङको पर्यटन विकासमा नीजि क्षेत्रको भूमिका एवं सम्मान कार्यक्रमको आयोजना गरी पदाधिकारीहरुलाई खादा र अविरले सम्मान गरेको हो ।

DSCN1365कार्यक्रममा बोल्ने वक्ताहरुले दाङमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको भन्दै यसको विकास र प्रर्वद्धनका लागि सबैले नीतिगत योजना बनाएर लैजानुपर्नेमा जोड दिए । पर्यटन विकास हुनु पनि दाङ जिल्लालाई प्रदेश नं. ५ को राजधानी बनाउने एउटा वलियो आधार भएको भन्दै जिल्लाको पर्यटन विकास गर्न अति आवश्यक भएको वक्ताहरुको भनाइ थियो । कार्यक्रममा नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटन विकास मुलुकको आर्थिक विकासको आधार भएको भन्दै यसमा नीजि क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने बताए ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको पर्यटन विकासको लागि पहिलेदेखि नै विभिन्न कामहरु गर्दै आएको र आगामी दिनहरुमा पनि त्यो भूमिकामा कुनै कमी नआउने प्रतिवद्धता जनाए । उनले दाङको धर्नामा करीव साढे पाँच सय विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्रको स्थापना हुने र त्यसलाई औदोगिक पर्यटनका रुपमा विकास गर्न सकिने उनले बताए ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले देशको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गर्न अति आवश्यक भएकाले यसमा नीजि तथा राज्यको तर्फबाट पहल गर्न आवश्यक भएको बताए । पर्यटन पत्रकार संघका शाखा अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव नरेश कार्कीलगायतले आफना विचार राखेका थिए ।