काठमाडौं, ११ भदौ । केही दिनअघि नेपाल भ्रमणका क्रममा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपाल चीन जोड्ने कोदारी सडक चौडा र रसुवागढीको टुमुरे पुल निर्माण गर्ने आश्वासन दिएसँगै सरकारले चीनबाट इन्धन आयात गर्ने तयारी गरेको छ ।
नेपाल–चीन सीमाका रणनीतिक महत्त्व बोकेका पुराना र नयाँ नाका जोड्ने सडक सञ्जाल निर्माणका लागि चीनले प्रतिबद्धता व्यक्त गरेपछि चीनबाट इन्धन ल्याउन सजिलो हुने भएको हो । नेपाल भ्रमणका क्रममा चिनियाँ उपप्रधानमन्त्री याङले सडक कनेक्टिभिटी आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए ।
सरकारले चीनबाट इन्धन आयातको जिम्मा नेशनल ट्रेडिङलाई दिने तयारी गरेको छ । अहिलेसम्म इन्धन आयात गर्ने जिम्मा नेपाल आयल निगमसँग मात्रै छ ।
इन्धन आयातमा एक्लौटी जिम्मा पाएको निगमलाई चीनबाट पनि आयातको अनुमति दिँदा भारतले अवरोध पुर्याउन सक्ने सरकारको ठम्याइ छ । अभियानमा भनिएको छ- सरकारले त्यसलाई ध्यानमा राखी चीनबाट इन्धन आयातको जिम्मा नेशनल ट्रेडिङलाई दिन लागेको आपूर्ति मन्त्रालयको एक उच्च स्रोतले बताएको छ । पछिल्लो समयमा निगम र नेशनल ट्रेडिङ आपसमा मर्ज हुने भन्ने विषय निकै उठे पनि मन्त्रालय स्रोतले भने मर्ज नहुने निश्चित भइसकेको जानकारी दिएको छ ।










