नारायण भुसाल
अध्यक्ष पदका उम्मेदवार / संयुक्त व्यावसायिक प्यानल दाङ जिल्ला उद्योग वाणिज्य संघ
दाङ जिल्ला उद्योग वाणिज्य संघ संयुक्त व्यावसायिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार नारायण भुसाल उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको साझा थलो बनाउनुपर्ने बताउँछन् । व्यवसायीहरुका समस्या समाधान गर्न र आम सामाजिक काममा उद्योग वाणिज्य संघको भूमिका अहम हुनुपर्ने उनको भनाई छ ।
दाङमा उद्योगधन्दाका लागि राम्रो सम्भावना भएकाले थुप्रै लगानी भित्रिन सक्ने उनको भनाई छ । २०४९ सालदेखि व्यवसाय शुरु गरेका भुसाल अहिले पनि विभिन्न एक दर्जनभन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध छन् । दाङ उवासंघको निर्वाचनको विषयमा केन्द्रित रहेर पत्रकार पाण्डव शर्माले भुसालसँग गरेको संक्षिप्त कुराकानी ।
दाङ उवासंघको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?
म उद्योग वाणिज्य संघमा अहिलेको कार्यकालमा उपाध्यक्ष पदमा रहेर काम गरिसकेको छु । त्यसैले पनि यस संस्थाको मुख्य नेतृत्वमा जान खोज्नु स्वभाविक हो ।
अर्को कुरा, उवासंघको उपाध्यक्षमा रहेर मैले गरेको कामको बारेमा आम व्यवसायी साथीहरुले मूल्यांकन गरिसक्नुभएको छ । उवासंघ र यहाँका समग्र व्यवसायीहरुको हितका लागि मसँग केही योजनाहरु छन् । ती योजना कार्यान्वयनका लागि म मूल नेतृत्वमा जान खोजेको हुँ । यसमा मेरो व्यक्तिगत चाहना मात्र होइन । मलाई अधिकांश व्यावसायिक संगठनहरुले समर्थन गरिसक्नुभएको छ । हामी अन्तिमसम्म उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयन होस् भन्ने पक्षमा थियौं । तर, सहमति हुन नसकेपछि लोकतान्त्रिक प्रक्रियाबाट उवासंघको निर्वाचनमा जानुपर्ने भयो र मैले संयुक्त व्यावसायिक प्यानलका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएको छु ।
तपाई अध्यक्ष भइसकेपछि उवासंघमा के काम गर्नुहुन्छ ?
उद्योग वाणिज्य संघलाई सबै व्यवसायीहरुको साझा संगठन गराउने मेरो पहिलो उद्देश्य रहेको छ । अहिले दाङलाई पाँच नम्बर प्रदेशको राजधानीको रुपमा प्रस्ताव गरिएको छ । यसलाई सार्थकता दिनको लागि निजी क्षेत्रले ठूलो भूमिका निर्वाह गर्नुपर्छ । यसमा मेरो भूमिका सशक्त र प्रभावकारी हुने छ ।
अर्को कुरा व्यवसायीहरुले भ्याटलगायतका विभिन्न बहानामा निकै दुःख व्यहोर्नु परेको छ । घरबहाल करको समस्या समाधान गर्नुपर्ने छ । दोहोरो कर प्रणाली, झन्झटिलो कानूनी प्रक्रिया लगायतका विषयमा समस्या समाधान गर्न मैले सहजीकरण गर्नेछु ।
दाङमा पछिल्लो समय उद्योगधन्दा तीव्र रुपमा खुलिरहेकाले औद्योगिक करिडोरको आवश्यक खड्किएको छ । हुन त विगतदेखि नै औद्योगिक करिडोरका विषयमा पहल भएकै हो । यसलाई पूर्णता दिनको लागि मैले पहल गर्नेछु । बहुउद्देश्यीय सभागृह निर्माणको कामलाई पूर्णता दिनेछु । स्थानीय तहसँग उचित समन्वय गरेर यस क्षेत्रको विकासका लागि पहल गरिने छ ।
तपाईहरुसँग नयाँ योजना के–के छन् ?
सभागृह निर्माणको कामलाई सम्पन्न गर्ने हाम्रो प्रमुख दायित्व रहनेछ । औद्योगिक क्षेत्र स्थापना गर्ने हाम्रो सबैभन्दा ठूलो योजना हो । जिल्लामा औद्योगिक क्षेत्र बनेको खण्डमा लगानीको वातावरण तयार हुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आउन सक्छन् । हामीले राजश्वसम्बन्धी सचेतनामूलक कार्यक्रम अघि बढाउने छौं । त्यसैगरी लेखा व्यवस्थापन सम्बन्धी व्यवसायीहरुलाई सचेत बनाइने छ ।
यहाँका व्यवसायीहरुको प्रमुख समस्या के हो ?
मुलुकभरका व्यवसायीहरुका साझा समस्या नै हाम्रो समस्या हो । त्यस्तै, दाङमा केही विशिष्ट प्रकारका समस्याहरु छन् । घरभाडा सम्बन्धी विवाद यहाँको प्रमुख समस्या हो । व्यवसायी र घरधनीबीच उचित समन्वय नहुँदा समस्या भइरहेको छ । निश्चित भाडादर बनाइनुपर्छ ।
लो भोल्टेज पनि दाङका व्यवसायीहरुको प्रमुख समस्या हो । दाङमा अहिले पनि उद्यमीभन्दा व्यपारीहरु धेरै हुनुहुन्छ । यहाँका व्यवसायीहरुलाई उद्यमी बनाउन सरकारले विशेष योजना ल्याउन जरुरी छ ।
राजश्वसम्बन्धी व्यवसायीहरुलाई जानकारी छैन । सरकारले पनि राजश्व विषयमा स्पष्ट नीति बनाउन सकेको छैन । राजश्वको सिलिङ विवाद पनि एउटा प्रमुख समस्या हो । अहिले २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेलाई भ्याटमा दर्ता हुनुपर्ने प्रावधान छ । अहिलेको महङ्गीलाई हेर्दा यो अलि मिलेको छैन । वर्षौंअघिको नीति अहिले कार्यान्वयन गर्ने काम भइरहेको छ । अब ५० लाखभन्दा कमको कारोबारलाई प्यानमा र सो भन्दा बढीको कारोबारलाई भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था गरिनुपर्छ ।
दाङमा लगानीका सम्भावनाहरु के हुन् ?
दाङ लगानीका लागि सम्भावना बोकेको जिल्ला हो । दाङमा कृषि उद्योग नै लगानीको प्रमुख क्षेत्र हो । प्रशस्त खेतीयोग्य जमिन भएकाले दाङ कृषि उत्पादन राम्रो गर्न सकिन्छ । माछापालन, पशुपालन, बाख्रा, बंगुर तथा गाइपालन गर्न सकिन्छ । यहाँ साना तथा ठूला जडिबुटी उद्योगहरु पनि सञ्चालन गर्न सकिन्छ ।
दाङ पर्यटकीय क्षेत्र पनि हो । यहाँका तालतलैया, मन्दिर, गुफा तथा वन जंगल पर्यटकीय गन्तव्य बन्न सक्छन् । साथै छिमेकी जिल्ला प्युठानमा रहेको स्वर्गद्वारी जानको लागि दाङ भएरै जानुपर्दछ । यसको फाइदा दाङको होटल व्यवसायले लिन सक्छ ।
दाङमा होटल व्यवसायको सम्भावना पनि राम्रो छ । दाङमा पछिल्लो समय ठूला लगानीका होटलहरु खुल्न थालेका छन् । अझैं दर्जनौं ठूला होटलहरु खुल्न सक्छन् । समथर भूभाग र राम्रो हावापानी भएकाले दाङमा ठूला प्रकृतिका उद्योगहरु पनि स्थापना गर्न सकिन्छ ।
पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा उद्योगधन्दाहरु धेरै खुल्न सकेका छैनन् । तर, पश्चिम नेपालमा बजारको सम्भावना राम्रो छ । दाङ पश्चिम नेपालकै केन्द्रविन्दु भएकाले सबैखाले उद्योगधन्दा खोल्न सकिन्छ ।
पछिल्लो समय दाङमा ठूला लगानीका उद्योगहरु खुलिरहेका छन् । यसरी लगानीकर्ताहरु दाङमा किन आकर्षित भएका होलान् ?
यहाँको भौगोलिक अवस्था र हावापानी नै लगानीको प्रमुख आधार हो । दाङ दक्षिण एशियाकै ठूलो उपत्यका हो । यहाँको हावापानी निकै राम्रो छ । कच्चा पदार्थहरु पनि पर्याप्त मात्रामा छ । सिमेन्ट उद्योगको लागि चुनढुंगा, कोइलाको खानी प्रशस्तै छ । दाङ भारतीय सिमासँग पनि जोडिएको छ । उद्योगधन्दाको बजारीकरणका लागि दाङमा कुनै समस्या छैन ।
यहाँको अर्थिक विकासका लागि के गर्नुपर्ला ?
यहाँको समग्र आर्थिक विकासका लागि सबैभन्दा बढी पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । पूर्वाधार निर्माणबिना मुलुकको आर्थिक विकास हुन सक्दैन । सबैभन्दा पहिले सडक सञ्जाल निर्माणलाई तीव्रता दिनुपर्छ ।
हुन त पछिल्लो समय दाङमा सडक सञ्जाल निर्माण भइरहेका छन् । सहिदमार्गलाई पूर्णता दिनुपर्छ । दाङ–सुर्खेत सडक, लमही–कोइलाबास सडक, घोराही–मुर्कुटी–प्यूठानलगायतका ठूला सडक परियोजनाहरु समयमै सम्पन्न गरिनुपर्छ । यसले गर्दा दाङलाई छिमेकी मुलुक भारत र पश्चिम नेपालका विभिन्न जिल्लाहरुसँग प्रत्यक्ष जोड्छ ।
यहाँको उत्पादनलाई ती ठाउँमा लैजान र त्यहाँ उत्पादित अत्यावश्यकीय वस्तुलाई यहाँ ल्याउन सजिलो पर्नेछ । तुलसीपुर विमानस्थलमा नियमित उडान गर्न सकियो भने पनि यहाँको पर्यटन प्रवद्र्धनमा निकै सहयोग पुग्नेछ ।
साथै हवाइसेवा व्यापारिक प्रयोजनका लागि पनि प्रयोग हुन सक्छ । पछिल्ला वर्षहरुमा दाङमा विभिन्न प्रकृतिका उद्योगहरु पनि खुलिरहेका छन् । धाराको टुटी उद्योग, बिस्कुट उद्योग, ग्यास प्लान्टलगायतका उद्योगहरु खुलिरहेका छन् । आगामी दिनमा यस्ता प्रकृतिका थुप्रै उद्योगहरु खुल्न सक्छन् ।
र, अन्त्यमा केही भन्नु थियो कि ?
सबैभन्दा पहिले त मेरो विचार राख्ने अवसर प्रदान गर्नुभएकोमा तपाईलाई धन्यवाद दिन चाहन्छु । दाङको आर्थिक तथा समग्र विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउनुपर्छ । यहाँको पूर्वाधार निर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ । उद्योगी तथा व्यवसायीहरुको क्षमता विकासका लागि राज्यले स्पष्ट योजना लिनुपर्छ । पश्चिमा देशहरुमा राजश्व तिर्नेहरुलाई विशेषखालको सम्मान गरिन्छ । नेपालमा भने व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण नै सकारात्मक बन्न सकेको छैन । हामी व्यवसायीहरुले पनि आफ्ना कमी कमजोरीलाई सच्चाएर ग्राहकको मन जित्न सक्नुपर्छ । मैले उवासंघका केही काम गर्ने सोच बनाएको छु । त्यसैले मलगायत मेरो नेतृत्वको संयुक्त व्यावसायिक प्यानललाई आम व्यवसायी मतदाताहरुले आफ्नो अमूल्य मत दिएर अगाडि बढ्ने अवसर दिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।
मैले उवासंघमा एक कार्यकाल सदस्य र एक कार्यकाल उपाध्यक्ष हुँदा व्यवसायीहरुका पक्षमा निर्वाह गरेको भूमिका सबैलाई थाहा नै छ । त्यस्तै, कटुवाखोला शंखपीपलमा शवदाह गृह सञ्चालन, उपक्षेत्रीय अस्पताललगायतका क्षेत्रमा खेलेको भूमिका सबै साथीहरुलाई थाहा नै छ । म सधैं व्यवसायीहरुको समस्या समाधान गर्न अगाडि बढ्ने गर्छु ।
उवासंघको नेतृत्वमा गइसकेपछि संघका सदस्यहरुको संरक्षण र उनीहरुको हक हितमा काम गर्नु मेरो प्रमुख दायित्व हो । मेरो नेतृत्वको उवासंघले आम व्यवसायी साथीहरुको व्यावसायिक तथा भौतिक सुरक्षाको लागि निरन्तर पहल र खबरदारी गर्नेछ ।
एक्लै कसैले केही गर्न सक्दैन, सबै टीमवर्कमा काम गर्ने हो । यसपटक हाम्रो संयुक्त व्यावसायिक प्यानलका सबै साथीहरु एकसेएक क्षमतावान् र सबै व्यावसायिक क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएको छ । त्यसैले सम्पूर्ण मतदाताहरुले हाम्रो व्यावसायिक प्यानललाई मत दिई व्यवसायीहरुको हितमा काम गर्ने अवसर दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।
धन्यवाद ।