दाङ ३० साउन ।  दाङ उद्योग वाणिज्य संघमा प्रवेश गरेको २३ वर्षपछि संघको अध्यक्षको बलियो दाबेदारको रुपमा उदाएका छन् नारायण भुसाल । यही साउन ३१ गते हुने दाङ उवा संघको निर्वाचनमा संयुक्त व्यावसायिक प्यानलको तर्फबाट भुसालले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

एक कार्यकाल संघको गल्ला किराना उपसमितिको संयोजक भइसकेका भुसाल २०६८–२०७१ को कार्यसमितिमा सबैभन्दा धेरै मत लिई सदस्य पदमा निर्वाचित भएका थिए भने अहिलेको कार्यसमितिमा पनि सबैभन्दा बढी मत लिई वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका थिए उनी ।

२०४९ सालमा हालको घोराही उपमहानगरपालिका वडा नं. १४ गौतमनगर टोलमा किराना पसलबाट आफ्नो व्यावसायिक यात्रा आरम्भ गरेका हुन् भुसालले । किराना पसल दिदीको जिम्मा दिएर अमुल इन्टरप्राइजेजमा मजदूरका रुपमा काम गर्न थालेका उनले त्यहीँबाट व्यावसायिक ज्ञान तथा हौसला प्राप्त गरेको बताउँछन् । केही समय अमुलमै काम गरेका उनले पछि आफ्नै लगानीमा गौतमनगर टोलमा भुसाल सप्लायर्स सञ्चालन गरिरहेका छन् ।

narayan bhusalव्यवसायका अतिरिक्त भुसाल सर्वाेदय पुस्तकाय तथा वाचनालय, गल्ला तथा किराना, डाँफे बचत तथा राप्ती अञ्चल लिकर्स एसोसियन, वितरण संघलगायतका विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका छन् । उनले विभिन्न सामाजिक अभियानहरुमा पनि हातेमालो गर्दै आइरहेका छन् ।

उपक्षेत्रीय अस्पतालको व्यवस्थापन र स्तरोन्नतिका लागि टोलबासीको नाताले सक्रिय रहँदै आएका छन् भने शंखपीपलस्थित शव दाहगृह स्थापना र व्यवस्थापनमा पनि उनको महत्वपूर्ण भूमिका रहेको छ ।

आफ्ना मामाबाट व्यावसायिक क्षेत्रमा काम गर्ने प्रेरणा पाएका उनी काम गर्ने क्रममा नयाँ ज्ञान र अनुभव हासिल गर्ने मौका अमुल इन्टरप्राइजेजका विष्णुप्रसाद श्रेष्ठबाट पाएको बताउँछन् । एसएलसी उतीर्ण गरेपछि पूर्णकालीन रुपमा व्यवसायका लागेका उनी यही क्षेत्रबाटै विभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर समाजसेवामा अनवरत लागिरहेका छन् ।