दाङ २८ साउन । दाङ जिल्लामा सुपर मार्केटको अवधारणासहित व्यवसाय सञ्चालन गर्दै आउनुभएका विष्णुप्रसाद सुवेदीले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्य पदको तयारीमा रहनुभएको छ । २०६६ सालमा पहिलो पटक दाङमा सुपरमार्केटको सम्भावना जगाउनुभएका सुवेदीले त्यसअघि विदेशमा व्यवसायको आइडिया पाउनुभएको थियो ।
कतारमा मार्केटिङको सीप प्राप्त गर्नुभएका सुवेदीले नेपाल फर्केपछि दाङको घोराहीमा सुपर मार्केटको अवधारणासहित राप्ती सुपर मार्केट स्थापना गरी व्यवसाय शुरु गर्नुभएको थियो । राष्ट्रिय उद्योग वाणिज्य संघका जिल्ला सदस्यसमेत रहनुभएका सुवेदी सिसा सगुन सहकारी सस्थाको शेयर सदस्य, मनकामना टोल विकास सस्थाको समेत रहेर काम गरिरहनुभएको छ ।
विएल अध्ययन पूरा गर्नुभएका सुवेदीले २०५३ सालमा विरगञ्जमा अधिवक्ताको रुपमा अनुभव बटुलिसक्नुभएको छ । देश, विदेशदेखि विभिन्न क्षेत्रको अनुभवले खारिनुभएका सुवेदी अहिले दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि संयुक्त व्यावसायिक प्यानलबाट प्रतिष्पर्धामा रहनुभएको छ ।