इन्द्रेणी संवाददाता
काठमाडौं २८ साउन । उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेपालका तराइ क्षेत्रमा रहेका भारतीय बाँधहरु तत्काल खोल्न आग्रह गरेका छन् । विगत केही दिन अघि देखि अनबरत परिरहेको अविरल वर्षाका कारण मुलुका विभिन्न क्षेत्रहरुमा डुवान सुरु भएको हो । तराइ भूभाग डुवानमा परे पछि जनजीवन सामान्य बनाउन महराले भारतलाई आग्रह गरेका हुन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री महराले भारतीय राजदुत मंजीव सिंह पुरीलाई टेलिफोन गर्दै भने देशमा परेको अविराम बर्षाका कारण तराइका अधिकांस भूभाग डुबानमा परेर त्यस क्षेत्रको जनजीवन प्रभावित भएकाले भारतीय बाँधहरु सबै खोलेर नेपालको यस कठिन घडीमा सहयोग पुर्याउन अनुरोध छ ।
महराले टेलिफोन गर्न बित्तिकै भारतले लक्षमणपुर बाँध खोलेको छ भने अन्य बाँध हरुपनि खोल्ने प्रक्रिया सुरु गरिसकेको छ । अनवरत परेको वर्षाका कारण झापा, मोरंग, सुनसरी, सप्तरी, रौतहट, दाङ , बाँके लगायतका जिल्लाका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।