इन्द्रेणी संवाददाता
जाजकोट, २९ जेठ
जाजरकोटका विभिन्न गाविसका जंगलमा मापदण्डविपरीत खोटो सङ्कलन हुँदा वनविनाश हुँदै गएको छ । जिल्लाको कार्कीगाउँ, झाप्रा, सीमा, दशेरा, पजारु, जुगाथापाचौर, साल्मा, डाँडागाउँ, लहँ, मजकोट, सुवानाउली लगाएतका २० गाविसका ८५ सामुदायिक वनमा जथाभावी खोटो सङ्कलन भइरहेको छ ।
जाजरकोटमा कार्यक्षेत्र बनाएका सात वटा खोटो सङ्कलकले मापदण्ड विपरीत खोटो सङ्कलन तथा चोरी निकासी गर्दै आएको उपभोक्ताको गुनासो छ ।
नियमअनुसार एक हेक्टर वनमा पाँचदेखि १० वटा माउ रुखलाई सुरक्षित राख्नुपर्ने खोटो सङ्कलन कार्य विधिमा उल्लेख छ । तर त्यसको पालना भएको छैन ।
ढिमेका डिल्ली थापाले जथाभावी रूपमा खोटो सङ्कलन गर्ने काम बन्द गर्नुपर्ने वताउनुभयो ।
खोटो सङ्कलकलाई छाडा छाड्दियो भने १० वर्षमा सल्लाघारी पूरै सखाप हुने उहाँको भनाइ छ ।
सङ्कलक कम्पनीका कामदारले धेरै खोटो श्राव गराउन सल्फ्युरिक एसिडको मात्रा बढी प्रयोग गर्दा पनि सल्लाका रुख सुक्दै गएका छन् ।
जिल्ला वन कार्यालयले यसमा कडाइ गर्न नसकेको उपभोक्ताले गुनासो गर्दै आएका छन । जङ्गलमा रहेका सबै रुखबाट खोटो निकाल्नु, तोकेको मात्राभन्दा बढी एसिडको प्रयोग गर्नु मापदण्ड विपरीत भएको जिल्ला वन कार्यालयले वताएको छ ।
खोटो सङ्कलन कार्यविधि २०६४ मा एउटा रुखमा ३२÷३२ रिल मात्र रिल बनाउनुपर्ने उल्लेख छ । तर, सङ्कलकले १०० देखि २०० सम्म रिल लगाउने गरेका छन् ।।