रबिन्द्र यादव

नवलपरासी २२ , साउन । नवलपरासीको प्रतापपुरमा बाढि प्रभावित गाउँहरुमा विभिन्न संघ संस्थाहरुले राहत वितरण गरि रहेका छन । यसै क्रममा प्रतापपुर गाउँपालिका वडा नं ८ फटकी टोलमा बाढ पीडितहरुलाई राहत सामग्री बितरण गरिएको छ । सिडियमए नेपालको सहयोगमा आज तेस्रो दिन सम्म करिब १०५ बढी प्रभावित घर परिवारलाई सामुहिक खाना संगै खाद्यान्न सामग्री चामल, दाल, चाउचाऊ,चिउरा लगायत सामग्रीहरु बितरण गरिएको सिडियमए नेपालका संस्थापक सदस्य गंगा प्रसाद सापकोटाले बताउनु भएको छ छ ।

बाढी पीडितहरुको सहयोगको लागि सुदामा कोईरीको संयोजकत्वमा ११ सदस्यीय बाढ पिडितका लागि राहत तथा उद्दार समिति गठन गरिएको छ । एक हप्ता देखि लगातार मुसलधार पानी पर्दा गत आईतवार राती सुस्ता गाउपालिका वडा नं।३ सेखुआनी स्थित रायपुरवा खोलाको पानीको सतह बढेको थियो र खोलाको गण्डक नहरको पश्चिमी बाध करिब ५०० मिटर फुटेर पानी प्रतापपुर गाउपालिका वडा नं ८ फटकी टोलामा पस्दा त्यस टोलमा रहेका करिब १०५ घरहरु डुवानमा परेको थियो ।

बाढिबाट करिब ४ सय मानिसहरु प्रभावित भएको बिपद ब्यवस्थापन समितिका सदस्य युवराज मौर्याले बताउनु भएको छ । नवलपरासीमा आएको बाढीबाट रामग्राम नगरपालिका, पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउपालिका बढि प्रभावित भएको छ । अहिले पनि धेरै जसो स्थानमा राहत समाग्रीको पर्खाइमा बाढ पिडितहरु बसेका छन ।