काठमाडौं, २२ साउन । व्यवस्थापिका– संसद्को आइतबारको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर ज्यान भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकी छन् ।
उनले व्यवस्थापिका– संसद्को अर्को बैठकमा घटनाबारे जवाफ दिन सरकारलाई निर्देशन दिनुभयो । त्यसअघि आइतबारको बैठकको प्रारम्भमा समय माग गर्दै नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गरे ।
मृतक बालकको शवसहित प्रदर्शन
निर्माणाधिन सडकको खाल्डोमा परेर मृत्यु भएका चार बालिकाहरुका आफन्तले रौतहटमा मृतकको शवसहित प्रदर्शन गरेका छन्।
घाँस काटेर फर्किने क्रममा सडकमा खनिएको खाल्डोमा परी मृत्यु भएका मृतकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको मागसहित प्रदर्शन गरेका हुन्।
उनीहरुले डिभिजन सडक कार्यालय र ठेकेदार कम्पनीको लापरबाहीका कारण वालिकाहरुको मृत्यु भएको आरोप लगाएका छन्। शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका उनीहरुले आफ्नो माग पूरा नभएसम्म वालिकाहरुको अन्तिम सँस्कार नगर्ने अडान राखेका छन् ।
