इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । जिल्ला समन्वय समिति (जिसस)का लागि आज मनोन्वयन दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट जितेन्द्रबहादुर नेपालीले उम्मेदवारी दर्ता गराएका छन् ।
माओवादी केन्द्रको तर्फबाट रेवन्ता पुनले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि एमाले र माओवादीबीच भएको सहमतिभन्दा वाहिर रहेर एमालेका केही नेताहरुले काग्रेससँग दोस्रो सहमति गरेको वाहिर आएपछि पुनले सभापतिमा उम्मेदवारी दर्ता गराएको बताइएको छ । वाहिर आएजस्तो एमालेले काग्रेससँग गरेको सहमति खारेजी नहुदासम्म आफुले उम्मेदवारी फिर्ता नलिने पुनले बताएका छन् ।
एमाले दाङका इञ्चार्जसहित केही नेताहरुले दाङ जिल्ला उद्योग वणिज्य संघको अध्यक्ष एमालेलाई, जिल्ला वारको अध्यक्ष काग्रेसलाई र जिसस सभापति एमालेलाई दिने गरी सहमति गरेको वाहिर आएको छ ।
‘उद्योग वाणिज्य संघ एमालेलाई, वार काग्रेसलाई र जिसस एमालेलाई दिने गरी सहमति भएको छ’, नेपाली काग्रेस दाङका सचिव शंकर डाँगीले भने, ‘त्यसैअनुसार हामीले मनन्वयन दर्ता गराएका छौं ।’
यता नेकपा माओवादी केन्द्र र एमाले दाङले शनिवार नै विज्ञप्ति जारी गरी असार २३ गते दुई पार्टीबीच भएको सहमति अनुसार नै उम्मेदवारी दर्ता गरिएकाले भ्रम नपर्न आग्रह गरिएको छ । माओवादी केन्द्रका जिवन गौतम र एमालेका कार्यवहाक अध्यक्ष हुकुमबहादुर वस्नेतले सयुक्त विज्ञप्ति जारी गरेर यस्तो जानकारी दिएका छन् ।
यसैगरी माओवादी केन्द्रबीच भएको सहमति अनुसार एमालेले सदस्य पदमा जक्तबहादुर बस्नेत, सावित्री रिजाल, देबिराम कुमाल थारु र शिला बुढामगरले उम्मेदवारी दर्ता गराएका छन् । भने माओबादी केन्द्रबाट उपप्रमुखमा श्रीधर शर्मा पौडेल, सदस्यहरुमा बसन्त सार्की, सुभद्रा भण्डारी र खिमबहादुर घर्तीले उम्मेदवारी दिएका छन् ।
नेपाली काग्रेसले पनि एमालेसँग भएको सहमति अनुसार उम्मेदवारी दर्ता गराएको छ । जसमा उपप्रमुखमा नित्यानन्द शर्मा, सदस्यहरुमा बिनोद पाण्डे, लोका बिक र ईन्द्रकुमारी अधिकारीको उम्मेदवारी परेको छ ।साउन ३२ गते हुने जिल्ला समन्यव समितिको निर्बाचनमा१० स्थानीय तहका प्रमुख उपप्रमुख गरी २० जनाले मतदान गर्ने छन् । जसमा नेकपा एमालेका १०, कांग्रेसका ८ र माओबादीका २ मतदाता रहेका छन् ।