महोत्तरी, १६ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को स्थानीय तहको चुनावमा मधेस केन्द्रीत दलसँग तालमेल गरेर चुनाव लड्ने बताएका छन् ।

prachandaचुनावको तयारीको प्रशिक्षणका लागि जनकपुर जानेक्रममा सोमबार महोत्तरीको बर्दिबासमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रदेश नम्बर २ मा राजपा, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमसँग मिलेर चुनावमा जाने हाम्रो विशेष जोड हुनेछ ।’ पहिलो र दोस्रो चरणको चुनावमा कांग्रेससँग मिलेर गरिएको दलीय गठबन्धन तेस्रो चरणमा भने कांग्रेससँगमात्रै सीमित नहुने उनले बताए ।

संविधान संशोधन नभएसम्म देशमा राजनीतिक संक्रमणकालको अन्त्य नहुने जिकिर गर्दै उनले भने, ‘राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ । राजपासहितको चुनाव गराउनमा हामी लागिपरेका छौं । राजपा चुनावमा आयो भने एमालेविना पनि संविधान संसोधनका लागि दुई तिहाई पुग्छ । हामी संविधान संसोधन र चुनावमा केन्द्रीत छ ।’