काठमाडौं १५ साउन । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने फैसला गरेको छ । आइतबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सो आदेश दिएको हो । न्यायाधीसद्वयले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै मुद्दाको फैसला सुनाएका छन् ।
जेठ १४ गते राति भरतपुर– १९ मा मतगणनाको दौरान मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो। निर्वाचन आयोगले मतगणना स्थगित गरेपछि लामो विवाद भएको थियो । पछि निर्वाचन आयोगले छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो। उक्त टोलीले बुझाएको प्रतिवेदनका आधारमा १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो।
आयोगको निर्णयविरुद्ध भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरुले पुनः मतगणनाको साटो पुनः मतगणनाको माग गरेका थिए। तर, उनीहरुको रिट खारेज गर्दै सर्वोच्चले पुनः मतदान गर्न निर्णय गरेको छ ।