इन्द्रेणी संवाददाता
जेष्ठ २८,
पुनर्निर्माण प्राधिकरणले गरेको विस्तृत सर्वेक्षण र विगतमा सरकारले वितरण गरेको अनुदानको आधारमा करिब सवा लाख परिवार नक्कली भूकम्पपीडित देखिएका छन् ।images
काठमाण्डौ उपत्यका बाहिरका ११ जिल्लामा मात्रै १ लाख २३ हजार ९ सय ६९ परिवार नक्कली पीडित देखिएका हुन् ।

पुनर्निर्माण प्राधिकरणका अनुसार उपत्यका बाहिरका भूकम्प प्रभावित ११ जिल्लामा ५ लाख ३२ हजार २ सय ३६ को पूर्णरूपमा घर क्षति भई अनुदान पाउनेको सूचीमा परेका छन् ।

तर, गृह मन्त्रालयले ६ लाख ५६ हजार २ सय ५ जनालाई अस्थायी आवास, न्यानो कपडाका लागि रकम वितरण गरेको थियो । उक्त आधारमा करिब सवा लाख नक्कली पीडित देखिएका हुन् । ‘भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा ७ लाख १७ हजार ७ सय १८ घरधनीको सर्वेक्षण गरिएको थियो,’ प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । यसमध्ये ५ लाख ३२ हजार २ सय ३६ घरधनी अनुदान पाउने सूचीमा परेका हुन् ।

२०७२ साल वैशाख १२ को भूकम्पपछि सरकारले स्थलगतरूपमा गरेको सर्वेक्षण, न्यानो कपडा वितरणका क्रममा संकलित विवरण र प्राधिकरणले केन्द्रीय तथ्यांक विभागमार्फत इन्जिनियरहरू परिचालन गरी पहिचान गरेको पीडितको तथ्यांकमा नाटकीय ढंगले उतारचढाव देखिएको हो । सरकारले निजामती अधिकृतको नेतृत्वमा टोली नै पठाएर सर्वेक्षण गरेको थियो । न्यानो कपडा बाँडेको अवधिमा पनि जिल्ला प्रशासनले नै प्रमाणित गरेर गृह मन्त्रालयमा पठाएको विवरण हो ।

तथ्यांक विभागको पछिल्लो सर्वेक्षणले तीमध्ये सवा एक लाख परिवारलाई १५ हजार र १० हजार रुपैयाँ राहत बाँडेको देखिन्छ । यो फरक तथ्यांकअनुसार करिब ३ अर्ब ९ करोड ९२ लाख २५ हजार रुपैयाँ रकम दुरुपयोग भएको देखिन्छ । विस्तृत सर्भेले उक्त परिवारलाई पूर्ण क्षतिमा नपरेकाले टहरा निर्माणका लागि १५ हजार र जाडो यामको १० हजार रुपैयाँ वितरण दुरुपयोग भएको देखिएको हो ।

भूकम्पपीडित तथ्यांक र दुरुपयोग रकम काठमाडौं उपत्यकाका तीन जिल्ला बाहिरको हो । सर्वेक्षणले तथ्यांक सार्वजनिक गर्नुपूर्व नै करिब २ सय नक्कली भूकम्पपीडित ठहरिसकेका छन् । उनीहरूले पीडित भन्दै बुझिसकेको करिब साढे ३२ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फिर्ता गराइसकेको छ ।।