काठमाडौं, साउन ११ । सल्यान क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद टेकबहादुर बस्नेत देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट सामान्य प्रशासन मन्त्री भएका छन् । सल्यानबाट प्रतिनिधित्व गर्ने संसद र राजनीतिक दलहरुले लामो समयदेखि मन्त्रिमण्डलमा दाबी गरे पनि सल्यानले त्यस्तो अवसर पाएको थिएन ।
पटक–पटक माओवादी नेता टेकबहादुर बस्नेत र एमालेका नेता प्रकाश ज्वालाको नाम आए पनि मन्त्री बन्न सफल भएका थिएनन् । २०४३–२०४६ मा मरिचमानसिंह श्रेष्ठ प्रधानमन्त्री बनेको करिब एक दशकपछि सल्यानका राजेन्द्रबहादुर शाह राज्यमन्त्री बन्न सफल भए पनि सल्यानले मरिचमानसिंह श्रेष्ठपछि मन्त्री पाएको थिएन ।
तर २८ वर्षपछि सल्यानमा माओवादी केन्द्रको तर्फबाट टेकबहादुर बस्नेत मन्त्री बनेका छन् । बस्नेतले पनि तेस्रो प्रयासमा मात्र मन्त्री बन्ने अवसर पाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातक गरेका बस्नेतले जेटिए भेटनरीसमेत पढेका छन् । उनले राजनीति सँगसँगै २०६५ देखि २०६९ सम्म ४ वर्ष लगाएर ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेजहरु’को संग्रह र ‘संविधान निर्माणमा जनसहभागिता, भाग–१’ नामक किताब पनि लेखेका छन् ।
सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको संक्षिप्त जीवनी
नामः टेकबहादुर बस्नेत
पार्टीको नाम : समरसिंह, सञ्जय
जन्म : वि.सं. २०२२ असोज १
जन्मस्थान : बागचौर नगरपालिका–८, सल्यान (साविक कोटमौला गाविस वडा नं. ३ बिउरेखोला)
पिता : स्व.खिमलाल बस्नेत
माता : स्व. टिकाकुमारी बस्नेत
श्रीमती : ढाका बस्नेत
दाइ/भाउजु : कुलबहादुर बस्नेत÷जयकला बस्नेत
पारिवारिक संख्या : ७ जना २ छोरा र ३ छोरीसहित
शिक्षा : स्नातक
भाषा : नेपाली, हिन्दी र अंग्रेजी
अनुभव : जनकल्यान मावि थारमारेमा अध्ययन गरि एसएलसी दिएर २०४० देखि २०४२ सम्म सोही विद्यालयमा अध्यापन ।
२०४३ माघमा क्षेत्रीय पशुसेवा निर्देशनालय सुर्खेतबाट नायव प्राविधिक सहायक पदको नियुक्ति लिएर जिल्ला पशुसेवा कार्यालय सल्यान खलङ्गाबाट पशुसेवा कार्यालय रागेचौरमा ३ महिना कार्यरत ।
२०४४ सालमा जिल्ला पशुसेवा कार्यालय रुकुम मुसिकोट र चौरजहारी पशुसेवा कार्यालयमा जागिर ।
२०४५ देखि २०४७ सालसम्म रुकुम जिल्लाको पशुसेवा कार्यालय प्वाङ र २०४८–४९ मा जिल्ला पशुसेवा कार्यालय, दाङ घोराहीबाट पशुसेवा कार्यालय दाङकै पञ्चकुले हुँदै जिल्ला पशुसेवा कार्यालय रुकुमबाट सरुवा भई चौंरी फार्म डोल्पामा कार्यरत रहँदा २०५० साल श्रावणमा सरकारी सेवाबाट विदा ।
भ्रमण : भारत, बंगलादेश, अमेरिका आदि ।
हालको जिम्मेवारी
नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य
प्रमुख सचेतक, व्यवस्थापिका संसद नेकपा माओवादी केन्द्र
व्यवस्थापिका संसद सदस्य, सल्यान क्षेत्र नं. १ बाट निर्वाचित
राजनीतिक यात्रा
– २०४२ मा नेपाल कमर्स क्याम्पस मीनभवनमा अध्ययन गर्दै अखिल विद्यार्थी संगठनमा आबद्ध ।
– २०४७ असोजमा नेकपा (मशाल)को सदस्यता प्राप्त, मंसिरदेखि पार्टी सेल कमिटीमा आबद्ध ।
– २०५० भाद्रदेखि पूर्णकालीन । जिल्ला पार्टी सदस्य ।
– २०५१ चैत्रमा सम्पन्न नेकपा (एकताकेन्द्र) सल्यान जिल्लाको दोस्रो सम्मेलनबाट जिल्ला सेक्रटरी ।
– २०५२ मंसिरको बैठकबाट जिल्ला सैनिक आयोगको प्रमुख ।
– २०५२ चैत्रदेखि २०५६ सम्म रुकुम र सल्यानको जिल्ला पार्टी सचिवालय सदस्य ।
– २०५६ भाद्रमा रुकुमबाट अलग भएपछि सल्यान जिल्ला पार्टी सेक्रेटरी ।
– २०५७ पौषमा सल्यान जिल्ला जनसरकार प्रमुख तथा फागुनमा पार्टी क्षेत्रीय व्यूरो सदस्य ।
– २०५८ मा जनमुक्ति सेना, नेपाल कम्पनी कमिस्नर ।
– २०५९ मा जनमुक्ति सेना, नेपाल तेस्रो बटालियन कमिस्नर ।
– २०६० मा जनमुक्ति सेना, नेपाल तेस्रो ब्रिगेड सहकमिस्नर ।
– २०६० श्रावणमा पार्टी केन्दीय समिति सदस्य ।
– २०६१ को फुन्टिबाङ बैठकबाट जनमुक्ति सेना, नेपाल तेस्रो ब्रिगेड कमिस्नर ।
– २०६२ असोजको चुनबाङ बैठकबाट जनमुक्ति सेना, नेपाल तेस्रो डिभिजन कमिस्नर, सैन्यव्यूरो ईन्चार्ज ।
– २०६३ मा शान्ति प्रक्रियापछि सल्यान जिल्ला पार्टी ईन्चार्ज ।
– २०६४ चैत्र २८ गते, पहिलो संविधानसभा निर्वाचनमा सल्यान–१ बाट निर्वाचित ।
– २०६९ माघ २०–२६ सम्म सम्पन्न हेटौंडा महाधिवेशनबाट पार्टी केन्दीय समितिमा निर्वाचित ।
– २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा सल्यान–१ बाट पुनः संविधानसभा सदस्यमा निर्वाचित ।
संविधानसभा अन्तरगत–संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति सदस्य, संसदीय सुनुवाई विशेष समिति सदस्य, सार्वजनिक लेखा समिति सदस्य
– २०७१ बैशाख १८–२३ सम्म विराटनगर राष्ट्रिय सम्मेलनबाट पार्टी केन्दीय समिति सदस्यमा निर्वाचित ।
– २०७३ जेष्ठ ६ गतेको पार्टी एकता अधिवेशनपछि बसेको पहिलो पोलिटब्युरो बैठकबाट पार्टी केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारी ।
– २०७३ भदौ २४ गतेदेखि संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ।
– २०७४ साउन ११ गतेदेखि सामान्य प्रशासन मन्त्री ।
– तिलकराज ओलीको सहयोगमा नौलो जनउभारले तयार पारेको रिपोर्ट
