काठमाडौं, १० साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले पृथक धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई सम्मान गरेका छन् । श्रद्धाञ्जलिका लागि पण्डितको शव राखिएको स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा पुगी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि व्यक्त गरे। अमेरिकाको अलास्का राज्यमा अवस्थित डेनाली हिमाल आरोहणका क्रममा २९ वर्षीय आरोही पण्डितको गत असार २ गते लेक लागेर निधन भएको थियो ।

Pandit123

एक महिनाभन्दा बढी समयपछि उहाँको शव गए राति काठमाडौँ ल्याइएको थियो । आज बिहान १० बजे पण्डितको शव श्रद्धाञ्जलिका लागि राखिएको थियो । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रतिभाशाली पण्डितको निधनले राष्ट्रलाई क्षति पुगेको बताए । “सञ्जय पण्डितजीको नेपालको पहिचानलाई चिनाउने आरोहणका क्रममा अमेरिकाको अलास्कामा दुःखद निधन भयो ।

यसले सबै नेपालीलाई चोट पुगेको छ । उनको आत्माको चिरशान्तिको कामना गर्दछु,”, उनले भने। सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा रामशरण महत तथा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुनले पण्डितलाई श्रद्धाञ्जलि दिएका थिए । पण्डितलाई श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुक, सर्वसाधारण, राष्ट्रिय खेलाडी तथा खेलप्रेमी र आरोहणमा संलग्न व्यक्तिहरु त्रिपुरेश्वर पुगेका थिए । लेक लागेर बिरामी भएका पण्डितको डेनाली आरोहण गर्ने क्रममा निधन भएको थियो ।

उनी पहिलादेखि नै चिसोका कारण बिरामी परेकाले परिवारले आरोहण नगर्न भने पनि आरोहणमा गएको पण्डितका भाइ देवेन्द्र वर्माले बताए । वर्माका अनुसार पण्डितले दुई हजार ४०० किमी म्याराथन र सात वटै महादेशका प्रमुख हिमाल आरोहण गरेका थिए । डेनाली हिमालको उचाइ २० हजार १५६ फिट अर्थात् छ हजार १४४ मिटर छ । पण्डितको १७ हजार २०० फिट उचाइमा निधन भएको थियो । पण्डितले यसअघि पनि एक पटक उक्त हिमाल चढिसकेका थिए । मौसम खराबीले पण्डितका शव ल्याउन ढिलो भएको बताइएको छ । विसं २०६५ देखि साहसिक यात्रा सुरु गर्नुभएका पण्डितले प्युठानको स्वर्गद्वारीबाट काठमाडौँको दूरी ४७ घण्टा २० मिनेटमा पार गरेका थिए । उनले अन्य थुप्रै दौड पूरा गरेका छन् । नेपाल–चीन सिमाना तातोपानी खासादेखि काठमाडौँ तथा गोरखादेखि काठमाडौँसम्म पनि उनले दौड पूरा गरेका थिए ।

त्यसपछि हिमाल आरोहण शुरु गरेका पण्डितले सगरमाथा दुई पटक सफल आरोहण गरिसकेका छन् । सातै महादेशका सर्वोच्च शिखर चढ्ने निर्णयअनुरुप पण्डितले अफ्रिकाको छानाका रुपमा चिनिएको माउन्ट किलिमान्जेरोको सफल आरोहण गरेका थिए । दक्षिण एशियाकै तीव्र गतिका आरोही सञ्जयले युरोपको सर्वोच्च शिखर माउन्ट एल्बरुसको सफल आरोहण गर्दै चुचुरोमा छ मिनेट तीन सेकेन्ड अर्धनग्न बसी नयाँ कीर्तिमान कायम गरेका थिए । एभरेष्ट दैनि बाट