असार ३, काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) का प्रवक्ता क. पम्फा भुसालले स्थानीय तहको निर्वाचनको तयारीका बेला पार्टी केन्द्रीय कार्यालयबाट दश करोड रुपैयाँ लिएको र निर्वाचनमा खर्च नगरिएको भन्ने आइतबार प्रकाशित समाचार अत्यन्तै भ्रामक र दुराग्रहपूर्ण भएको भन्दै अध्यक्ष प्रचण्डको सचिवालयले खण्डन गरेको छ ।

Pampha-600x381

आइतबार केही अनलाइन मीडियाले प्रवक्ता पम्फा भुसालले केन्द्रीय कार्यालयबाट दश करोड लिएको र कहीँ कतै खर्च नगरेको भन्दै समाचार प्रकाशित गरेका थिए । आइतबार बेलुका प्रचण्डको सचिवालयले सञ्चार माध्यमलाई जानकारी गराएको सार्वजनिक सूचनामा प्रचार विभागलाई पार्टीले आर्थिक अनुदान नदिएको, क. पम्फा भुसालले पार्टी केन्द्रीय कार्यालय, अध्यक्ष प्रचण्ड वा पार्टीका कुनै पनि निकायबाट एक रुपैयाँ पनि रकम नलगेको स्पष्ट पारेको छ ।

सचिवालयले जारी केन्द्रीय सचिवालय बैठकलाई प्रभावित पार्ने, नेता भुसालको चरित्र हत्या गर्ने र जनतामा गलत सूचना सम्प्रेषण गर्ने मनसायले समाचार प्रकाशित भएको भन्दै उक्त समाचारबाट भ्रमित नहुन सबैमा अपील पनि गरेको छ ।