काठमाडौँ, २६ असार । चिनियाँ लेखक सङ्घको निम्तामा चीनको कुनमिन, छेन्दु र बेइजिङमा आयोजना भएका विभिन्न साहित्यिक कार्यक्रममा भाग लिई नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डल शनिबार राजधानी फर्केको छ । प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेको नेतृत्वमा प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. प्राज्ञ उषा ठाकुर, प्रा.डा. प्राज्ञ ज्ञानु पाण्डे, प्राज्ञ मातृका पोखरेल, प्राज्ञ विवश पोखरेल र प्रतिष्ठानको प्रशासनतर्फकी उपप्रमुख शशी चालिसे भ्रमण दलमा सहभागी हुनुहुन्थ्यो । सात सदस्य प्रतिनिधि मण्डल असार १८ गते आइतबार चीनतर्फ प्रस्थान गरेको थियो ।

sahitya chin

प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डलको स्वागतमा पहिलो दिन चिनियाँ लेखक सङ्घको युनान प्रान्तले कुनमिनमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा चिनियाँ लेखक सङ्घ युनानका प्रतिनिधि फान लिङले स्वागत गर्दै नेपाल र चीनका बीचमा साहित्य रचना गर्ने विषयहरू समान रहेको धारणा राख्नुभएको थियो । उहाँले नेपालका साहित्यकारले जस्तै चिनियाँ साहित्यकारहरूले पनि पहाडी जनताका कथा लेखिरहेको खुलस्त पार्नुभएको थियो ।

उक्त कार्यक्रममा आफ्ना विचार राख्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति घिमिरेले नेपाल र चीनबीचको सम्बन्ध धर्ती जत्तिकै पुरानो रहेको धारणा व्यक्त गर्नुभएको थियो । यसै गरी भ्रमण दलका सदस्यहरूले पनि नेपाली साहित्यका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । चिनियाँ लेखक सङ्घ युनान प्रान्तका पदाधिकारीले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा चीन र नेपालका समकालीन साहित्यको वर्तमान अवस्थाबारेमा चर्चा भएको थियो । सोही दिन चिनियाँ लेखक सङ्घ, युनानले नेपाली प्रतिनिधि मण्डललाई टिन्स ताल, प्राचीन दरबार लगायत युनानका महत्वपूर्ण क्षेत्रहरुको अवलोकन गराएको थियो ।

china_1

असार २० गते मङ्गलबार लेखक सङ्घ, बेइजिङ शाखाले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा चिनियाँ लेखक सङ्घका अध्यक्ष छाङ ताओले नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबीच भएको साहित्यिक सद्भाव आदानप्रदान सम्झौताअनुसार दुई देशबीच भएका विगतका सम्बन्धहरुको स्मरण गर्दै भविष्यमा यसले अझै गति लिने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा लुसुन साहित्य प्रतिष्ठानका अध्यक्ष क्यु हुवादोङले चिनियाँ सरकारले चीनका अल्पसङ्ख्यक जातिको भाषा र साहित्यलाई अत्यन्तै महत्व दिएको जानकारी गराउनुभयो । नेपाल प्रज्ञा– प्रतिष्ठानका उपकुलपति डा. घिमिरेले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो । सोही दिन चिनियाँ लेखक सङ्घ, बेइजिङ्गले नेपाली प्रतिनिधिमण्डललाई ग्रेट वाल, अरनिकोद्वारा निर्माण गरिएको स्वेतचैत्य लगायत बेइजिङ्गका महत्वपूर्ण क्षेत्रहरुको अवलोकन गराएको थियो ।

यसै गरी लेखक सङ्घको सिन्चुवानले शाखाले सिन्चुवानको राजधानी छेन्दुमा स्वागत एवम् साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा चिनियाँ लेखक सङ्घ, सिन्चुवानका उपाध्यक्ष गोङ छेउले सिन्चुवानका लेखकहरूको ऐतिहासिक योगदान र त्यहाँको लेखक सङ्घको साङ्गठनिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले सिन्चुवानमा लेखक सङ्घले इन्टरनेट साहित्यमा विशेष महत्व दिएको जानकारी गराउनुभएको थियो । कार्यक्रमपछि प्रतिनिधिमण्डललाई रेडपाण्डा चिडियाखाना, सङ्ग्रहालय लगायत छेन्दुका महत्वपूर्ण क्षेत्रहरूको अवलोकन गराएको थियो । साँझ प्राज्ञ टोलीको सम्मानमा रात्रिभोजको आयोजना गरिएको थियो । यसरी एक साता लामो चीनको साहित्यिक सद्भाव भ्रमण गरी भ्रमण गरी नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डल राजधानी फर्किको छ ।

चीन भ्रमणबाट फर्किनुभएका नेपाली प्रतिनिधि मण्डलका नेता एवम् प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले चीन यात्रा अत्यन्त उपलब्धिमूलक भएको बताउनुभयो ।