दाङ २३ असार । नेकपा माओवादी केन्द्र दाङका नेताहरुले स्थानीय तह निर्वाचनमा जिल्लाका कम पालिकामा जित्नु प्राविधिकरुपमा हार भए पनि राजनीतिक जितेको बताएका छन् । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर समितिले उपमहानगरभित्र जितेका जनप्रतिनिधिलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
प्रमुख अतिथि पोलिटब्यूरो सदस्य एवं माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले प्राविधिकरुपमा चुनाव हारे पनि राजनीतिक पहलकदमीका हिसाबले चुनाव जितेको बताउनुभयो । साथै उहाँले जीत हार जे भए पनि निरन्तर जनप्रतिनिधिको रुपमा खट्न सबै उम्मेदवारलाई निर्देशन दिनुभयो । ‘मत तलमाथि हुने एउटा कुरा हो, जितेका जितहाल्नुभयो, हारेका साथीहरुले बेतलबी जनप्रतिनिधिको रुपमा निरन्तर खट्नुहोस, म पनि घोराहीमा पाँच बर्ष तलब नखाने र हस्ताक्षर नचल्ने मेयरको रुपमा रहने छु’– उहाँले भन्नुभयो ।
अर्का पोलिटब्यूरो सदस्य एवं निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले दाङमा माओवादीको पक्षमा उर्जाशील परिणाम आएको बताउनुभयो । एक सय वडा रहेको दाङमा ३३ वडामा प्रतिनिधित्व कायम गरेको र मतसंख्याका हिसाबले २३ प्रतिशत मत प्राप्त गरेको उहाँले बताउनुभयो । ‘दाङमा पार्टी निर्माणको जग खडा भएको छ, अब यसमा टेकेर आगामी दिनमा सहजरुपमाअघि बढ्न सकिने बाटो खुलेको छ’– उहाँले भन्नुभयो ।
अर्का पोलिटब्यूरो सदस्य एवं चुनाव परिचालन समिति घोराहीका संयोजक हेमराज शर्मा ‘डायमण्ड’ले दाङमा माओवादीले धेरैले सोचेभन्दा फरक परिणाम ल्याएको बताउनुभयो । यो चुनावसँगै अब फेरि दाङमा माओवादी हावी भएको र माओवादी आन्दोलनको मूलधार कायम राखेको पुष्टि गरेको बताउनुभयो । अहिलेका सबै मतदातालाई संगठित गरेर अघि बढ्ने उल्लेख गर्दै उहाँले आगामी बिजयका लागि संगठनात्मक आधार तयार भएको बताउनुभयो ।
संयोजक शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपमहानगर अध्यक्ष विश्वराज आचार्यले गर्नुभएको थियो भने उपाध्यक्ष प्रमोद शर्माले स्वागत गर्नुभएको थियो ।