लान्चो, २२ असार। उपराष्ट्रपती नन्दबहादुर पुन ‘पासाङ’सँग चाइनीज पिपुल्स पोलिटिकल कन्सुलटेटिभ कन्फ्रेन्स ( सिपिपिसीसी ) का उपाध्यक्ष छि स्यूछुनले शिष्टाचार भेट गर्नुभएको छ । चीनको साताव्यापी औपचारिक भ्रमणको क्रममा कान्सु प्रान्तको लान्चो शहरमा रहनुभएका उपराष्ट्रपतिसँग सिपिपिसीसीका उपाध्यक्ष स्युछुनले बुधबार साँझ शिटाचार भेट गर्नुभएको हो ।
भेटमा उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपाली भूमीमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने बताउनुभयो । चीनका राष्ट्रपति शि जिनपिङले अगाडि सार्नुभएको वेल्ट एड रोड एनिसियटिभ समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै वेल्ट एण्ड रोड एनिसियटिभबाट नेपालले फाइदा लिन खोजिरहेको बताउनुभयो ।
‘विआरआईबाट नेपाल धेरै लाभाम्वित हुनेछ, खासगरी कनेक्टिभिटिको क्षेत्रमा रेलवे, रोड, विमानस्थल, विद्युत प्रशारणमा ठूलो फाइदा लिनेछ,’ भेटमा उपराष्ट्रले भन्नुभयो, ‘सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हाँसिल गर्न अगाडि बढिरहेको नेपालले यसबाट ठूलो सघाउ पुग्ने हामीले विश्वास लिएका छौँ ।’
उपराष्ट्रपतिले नेपालको तर्फबाट भएका उच्चस्तरीय भ्रमणका क्रममा भएका संझौता र समझदारीहरु नेपालले कार्यान्वयनको चरणमा लगेको बताउनुभयो ।
उहाँले नेपालको तर्फबाट उच्चस्तरीय भ्रमण भइरहेको भए पनि लामो समयदेखि राष्ट्रपतिको भ्रमण हुन नसकेको भन्दै भ्रमणका लागि आग्रह गर्नुभयो । ‘नेपाल र नेपाली जनता चीनका राष्ट्रपति शि जिनपिङले स्वागत गर्न आतुर छन्,’ भेटमा उहाँले भन्नुभयो, ‘दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझै माथि उठाउन चीनबाट नेपालको उच्चस्तरीय भ्रमणको आवश्यक छ ।’
भेटमा उपराष्ट्रपतिले नेपालमा लगानीमैत्री वातावरण बनेकोले ठूला लगानी लिएर नेपाल आउन चीनलाई आग्रह गर्नुभयो । स्थानीय तहको दुई चरणको निर्वाचन भईसकेको, असोजमा तेस्रो चरणको र माघभित्र प्रदेश र संघको चुनाव भईसकेपछि नेपालले पूर्ण रुपमा राजनीतिक स्थिरता हाँसिल गर्ने उहाँको भनाई थियो ।
‘हामी अब पूर्ण राजनीतिक स्थितरमा जाँदैछौँ, अब हाम्रो एकमात्र ध्यान आर्थिक समृद्धि हो,’ उहाँले भन्नुभयो, ‘नेपाल र नेपालीको समृद्धिका लागि ठूलो लगानीको आवश्यक छ, हामीले वैदेशिक लगानीको अपील गरेका छौँ, यहाँहरु ठूला लगानी लिएर नेपाल आउनुहोस्, लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गरिदिनुहास् ।’ उहाँले जलविद्युत, पर्यटन, कृषि, जडिबुटी र पूर्वाधार निर्माणको क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
उपराष्ट्रपतिसँगको भेटमा सिपिपिसीसीका उपाध्यक्ष स्युछुनले नेपाल सदैव चीनको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले नेपाल चीन सम्बन्ध विश्वकै उदाहरणीय भएको बताउनुभयो । ‘विश्वमा यस्तो सुन्दर सम्बन्ध भएका मुलुक कमै देखिन्छ,’ नेपाल चीन सम्बन्धबारे उपाध्यक्ष स्युछुनले भन्नुभयो । उहाँले चीन र नेपालको सम्बन्ध भाईभाईको सम्बन्ध जस्तो बनिसकेको बताउनुभयो ।
उहाँले चीनले नेपालको विकासमा सहयोग गर्ने बताउनुभयो । प्राकृतिक प्रकोपपछिको निर्माण, पूर्वाधार निर्माण, उर्जा र पर्यटनको क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न तयार रहेको उहाँको भनाई थियो । उहाँले चीनियाँ लगानीकर्ताहरु नेपालमा लगानी गर्न ईच्छुक रहेको बताउनुभयो ।
उहाँले वर्षेनी दश लाख चिनियाँ पर्यटक नेपाल भित्रन सके नेपाललाई ठूलो फाइदा हुने बताउनुभयो । ‘यसका लागि नेपालले यातायात पूर्वाधारमा काम गर्नुपर्छ, यसमा हामी दुई देश मिलेर काम गर्न सक्छौँ,’ उहाँले भन्नुभयो, ‘हामी जलविद्युत, पर्यटन, जडिबुटी, पूर्वाधार निर्माणको क्षेत्रमा सहकार्य गर्न तयार छौँ ।’
भेटमा उपाध्यक्ष स्युछुनले स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न गरेकोमा नेपाललाई बधाई दिनुभयो । उहाँले चीन जहिले पनि नेपालमा राजनीतिक स्थिरता होस्, नेपाली जनताको जीवन स्तर राम्रो होस् भन्नेमा रहेको बताउनुभयो ।
भेटमा नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, उपराष्ट्रपति कार्यालयका सचिव नारायण गोपाल मलेगो, परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललगायत हुनुहुन्थ्यो । चीनको तर्फबाट कान्सु प्रान्तका गभर्नरसहित कान्सु प्रान्तका उच्चस्तरीय पदाधिकारीहरु हुनुहुन्थ्यो ।
उपराष्ट्रपति पुन आजै कान्सु प्रान्तका गभर्नर ताङ रानजिएविले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुनुभयो । आजै लान्चाउमा रहेको तार उत्पादन कारखाना र वियर उत्पादन कारखानाको अवलोकन भ्रमण गर्नुभएको छ ।
बिहीबार उपराष्ट्रपतिले लान्चोमा २३ औँ चीन लान्चो लगानी तथा व्यापार मेलाको उद्घाटन समारोहलाई संबोधन गर्नुहुनेछ । व्यापार मेलामा नेपाललाई आयोजकले अतिथि मुलुकको रुपमा आमन्त्रण गरेको छ । उपराष्ट्रपति व्यापार मेला र शिल्क रोडसम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधनका लागि मंगलबार साँझ लान्चाउ आईपुग्नुभएको हो ।