दाङ ११ असार । नेकपा माओवादी केन्द्र दाङले आइतवार जिल्लाका सात स्थानमा चुनावी सभा गरेको छ । पार्टीले जिल्लामा सञ्चालन गरेको तीन चरणको चुनाव प्रचार अभियानअन्तर्गत उत्कर्षको रुपमा जनपरिचालनसहित बिशाल जनसभा गरिएको जिल्ला निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । सातवटै सभालाई गृहमन्त्री एवं पार्टी नेता जनार्दन शर्मा ‘प्रभाकर’ले सम्वोधन गर्नुभएको थियो ।
माओवादी केन्द्र घोराहीले आइतवार नारायणपुरमा गरेको ¥यालीपछिको जनसभालाई सम्वोधन गर्दै मन्त्री शर्माले आफ्नो पार्टीले गहिलेसम्म जनतासमक्ष गरेका वाचा सबै पूरा गरेकाले जनतासँग मत माग्ने सवालमा पनि उच्च नैतिकता रहेको बताउनुभयो ।
माओवादीले कहिल्यै आश्वासन नबाँडेको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘हामीले संविधानसभाबाट संविधान भन्यौं ल्यायौं, गणतन्त्र भन्यौं ल्यायौं, मुलुकबाट अँध्यारो हटाउँछौं भन्यौं हटायौं, अब समाजवादको आधार पनि निर्माण गरेरै छाड्छौं ।’ दाङको सन्दर्भमा प्रदेश राजधानी नै मुख्य सरोकार स्थानीय पार्टीले यसलाई नै मुख्य चुनावी एजेण्डा बनाएको बताउनुभयो ।
मन्त्री शर्माले अब गरीबी, बेरोजगारी र अभावसहितको समाजवाद परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उहाँले जनताको आर्थिक–सामाजिक–सांस्कृतिक जीवनस्तर माथि उठाएर देशलाई समृद्ध बनाउँदै समाजवाद स्थापनाको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । ‘स्थानीयस्तरमा धेरै एजेण्डा छन् तर हामीले राष्ट्रियरुपमा स्थानीय तह निर्वाचनमा मुख्यतः चार वटा प्रतिबद्धता अगाडि सारेका छौं’– नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका शर्माले भन्नुभयो– ‘निजी विद्यालयले दिनेभन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयबाटै दिने, स्थानीय सरकारबाटै हरेक नागरिकको स्वास्थ्य विमा गरेर कोही पनि उपचार नपाएर पर्ननपाउने स्थिति सिर्जना गर्ने, जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउने र भ्रष्टाचार अन्त्य गर्ने ।’
यी चार प्रतिबद्धता पूरा गर्न सके मुलुकमा समाजवादको आधार निर्माण हुने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘हामी देशब्यापी यो नीति लागु गर्न चाहन्छौं तर सबै ठाउँमा हामीले जित्न सकेनौं भने जितेका ठाउँबाट यी नमूना कार्यक्रम लागु गरेरै छाड्छौं ।’
कार्यक्रममा मेयर उम्मेदवार जीवन गौतम र उपमेयर उम्मेदवार सिता चौधरीले पनि बोल्नुभएको थियो । उपमहानगर निर्वाचन परिचालन समिति संयोजक हेमराज शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपमहानगर अध्यक्ष विश्वराज आचार्यले गर्नुभएको थियो ।
माओवादी केन्द्र दाङले जिल्लाका अन्य छ स्थानमा पनि चुनावी सभा गरेको जनाएको छ । राप्ती गाउँपालिकाको भालुवाङमा भएको चुनावीसभालाई गृहमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य दामा शर्मा, अध्यक्षका उम्मेदवार श्यामेश चौधरी र उपाध्यक्षका उम्मेदवार भगवता अधिकारीले सम्वोधन गर्नुभएको थियो । गढवामा भएको सभालाई गृमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरी र राजकुमार शर्मा, अध्यक्षका उम्मेदवार लुमाकान्त न्यौपाने र उपाध्यक्षका उम्मेदवार रमाकुमारी चौधरी, केन्द्रीय सदस्यहरु विश्वास शर्मा र प्रकाश पन्थीले सम्बोधन गर्नुभएको थियो ।
लमहीको सुनडबरीमा भएको सभालाई गृहमन्त्री शर्मा, मेयरका उम्मेदवार द्रौपदा पौडेर र उपमेयरका उम्मेदवार कालुराम चौधरीले सम्वोधन गर्नुभएको थियो । त्यस्तै तुलसीपुरको सभालाई गृहमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा, कुबेर ओली, मेयरका उम्मेदवार शेषुराम भण्डारी र उपमेयरका उम्मेदवार सिता ओलीले सम्वोधन गर्नुभएको थियो ।
त्यस्तै श्रीगाउँको सभालाई गृहमन्त्री शर्मा, पोलिटब्यूरो सदस्य निर्मल आचार्य, दंगीशरणका अध्यक्ष उम्मेदवार हिरालाल चौधरी र उपाध्यक्ष उम्मेदवार सिता बस्नेत, शान्तिगरका अध्यक्ष उम्मेदवार नेवबहादुर रोका र उपाध्यक्ष उम्मेदवार राधिका परियारले सम्बोधन गर्नुभएको थियो । हापुरको सभालाई गृहमन्त्री शर्मा, अध्यक्षका उम्मेदवार सुशील खड्का क्षेत्री र उपाध्यक्ष उम्मेदवार उर्मिला ओलीले सम्बोधन गर्नुभएको थियो ।
