इन्द्रेणी संवाददाता
दाङ, ९ असार । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका ५ नम्बर प्रदेश इञ्चार्ज बर्षमान पुन ‘अनन्त’ले माओवादीको चुनावी परिणाम पुरानै अवस्थामा फर्कने स्थिति सिर्जना हुँदै गएको बताएका छन् ।
चुनावी दौडाहको क्रममा दाङको गढवा गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा आउँदासम्म माओवादी पुरानै अवस्थामा फर्कने स्थिति बढेको बताएका हुन् ।
‘पहिलो चरणको स्थानीय तह निर्वाचनमा हामीले ४६ वटा ठाउँमा जित्यौं भने ५२ ठाउँमा दोस्रो भयौं’– उनले भने– ‘त्यो पनि नराम्रो त होइन तर सोचेभन्दा अलि कम भयो, अहिले दोस्रो चरणको चुनावी उत्साह हेर्दा चाँडै माओवादीको कमब्याक हुने संभावना बढेर गएको छ ।’
प्रदेश नम्बर ५ का जिल्लाहरुमा चुनावी उत्साह उल्लेख्य बढेको जनाउँदै उनले चुनावको माहोल माओवादीको पक्षमा आइसकेको दाबी गरे ।
पूर्वमन्त्री पुनले शुक्रवार अर्घाखाँचीको एक ठाउँ तथा दाङको गढवा बंगलाचुली गाउँपालिका गरी दश स्थानमा चुनावीसभालाई सम्वोधन गरेका थिए ।











