इन्द्रेणी संवाददाता
काठमाण्डौ, २५ जेठ
नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी विश्वकै ५२ औँ शक्तिशाली महिला हुनुभएको छ ।
फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचिमा भण्डारी ५२ औँ स्थानमा पर्नुभएको हो ।
फोब्र्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको यो पहिलोपटक हो ।
नेपालमा राष्ट्रपतिको पद सेरेमोनियल रहेपनि कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएको र लामो राजनीतिक अनुभव भएका कारण भण्डारीले राष्ट्रिय राजनीति तथा निर्णय निर्माणमा ठूलो प्रभाव पार्न सक्ने पत्रिकाले उल्लेख गरेको छ ।
महिला अधिकारकर्मी समेत रहेकी भण्डारीले संसदमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गराएको फोब्र्सले उल्लेख गरेको छ । जर्मन चान्सलर एन्जेला मर्केल लगातार छैटौँ वर्ष सबैभन्दा शक्तिशाली महिलाको पहिलो नम्बरमा रहेकी छन । उनी अहिलेसम्म पटक पटक गरी दश पटक विश्वकोे सबैभन्दा शक्तिशाली महिला बनेकी छिन् ।।